न्यूरोडबाट ८ लाख ६१ हजार रुपैयाँसहित युवक पक्राउ, स्रोत खुलाउन नसकेपछि अनुसन्धान तीव्र


काठमाडौं ।

काठमाडौं महानगरपालिका–२२ न्यूरोड क्षेत्रबाट स्रोत नखुलेको नगद ८ लाख ६१ हजार ५ सय रुपैयाँसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भक्तपुरको लोकन्थली बस्दै आएका सिन्धुपाल्चोक घर भएका २६ वर्षीय सविन तिमल्सिना रहेका छन्।

प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले नियमित निगरानी तथा चेकजाँचका क्रममा उनलाई शंकास्पद अवस्थामा फेला पारी साथमा रहेको नगद रकमबारे सोधपुछ गर्दा रकमको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार बरामद नगद रकमको वैधानिक स्रोत, प्रयोग तथा सम्भावित आर्थिक अपराधसँग सम्बन्धित विषयमा थप अनुसन्धान भइरहेको छ। आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।