विश्वकपको अनधिकृत प्रसारण तयारीमा रहेका ३५ वेबसाइट र एप ब्लक गर्न प्राधिकरणको निर्देशन


काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरू अनधिकृत रूपमा प्रसारण गर्ने तयारीमा रहेका ३५ वटा वेबसाइट तथा एपहरूलाई तत्काल बन्द (ब्लक) गर्न इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ ।

प्राधिकरणले बिहीबार सेवा प्रदायकहरूलाई पत्राचार गर्दै पाइरेटेड स्ट्रिमिङ रोक्न आवश्यक कदम चाल्न आग्रह गरेको हो ।

प्राधिकरणका अनुसार नेपालमा विश्वकप फुटबल–२०२६ को आधिकारिक प्रसारण अधिकार हिमालय टेलिभिजन नेटवर्क (हिमालय स्पोर्ट्स) र डिसहोम डिजिटल प्रा.लि. (डिगो) को संयुक्त उपक्रमएचटिभी–डिजिओ ब्रड्कास्टिङ कन्सोर्टियम जेभीले मात्र प्राप्त गरेको छ ।

विभिन्न अनधिकृत वेबसाइट तथा एपहरूले खेलहरू निःशुल्क रूपमा स्ट्रिमिङ गर्ने तयारी गरिरहेको सूचनाका आधारमा यस्तो निर्णय गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणकी सहायक निर्देशक सुनिता पाण्डेले सेवा प्रदायक कम्पनीहरूलाई पत्राचार गर्दै सूचीमा रहेका प्लेटफर्महरू तत्काल ब्लक गर्न निर्देशन दिएकी हुन् ।
ब्लक गर्न निर्देशन दिइएका प्लेटफर्महरूमा kick.com, freeplyrr, sportzfy, sportzfyapp.cc, cricfytv, cricty.net, smartric.com, webcric.eu, yasin-tv.net, streameast.to, र ronaldo7.net लगायतका साइट तथा एपहरू रहेका छन् ।