चार देशबाट खेल्दै ४ दाजुभाइ


काठमाडौं ।

विश्वकप फुटबलको महाकुम्भ सुरु हुन अब ६ दिन मात्र बाँकी रहँदा विश्वभरका खेलप्रेमीमाझ रौनक निकै बढेको छ । अमेरिका, मेक्सिको र क्यानडाको संयुक्त आयोजनामा हुन लागेको यस पटकको विश्वकप ऐतिहासिक बन्दैछ, किनकि पहिलो पटक ४८ वटा टोलीले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । यो वृहत् र रोमाञ्चक संस्करणमा खेलको प्रतिस्पर्धा मात्र होइन, पारिवारिक भावना र राष्ट्रियताको एउटा अनौठो कथा पनि मैदानमा देखिने भएको छ । यस पटक दुई फरक परिवारका चार दाजुभाइ आ-आफ्नो देशको झण्डा बोकेर फरक-फरक चार राष्ट्रिय टोलीबाट मैदान उत्रिँदैछन्, जसले विश्वकपको रोमाञ्चकतालाई थप उचाइमा पुर्‍याएको छ ।

यस अनौठो यात्रा चर्चित विलियम्स दाजुभाइले गरिरहेका छन् । इनाकी विलियम्स र उनका भाइ निको विलियम्स लगातार दोस्रो पटक फरक-फरक देशको प्रतिनिधित्व गर्दै विश्वकप खेल्ने तयारीमा छन् । दाजु इनाकीले आफ्नो पुर्ख्यौली भूमि घानाको जर्सी लगाएर मैदानमा जादु देखाउनेछन् भने भाइ निकोले स्पेनको राष्ट्रिय टोलीबाट आफ्नो खेल कौशल प्रदर्शन गर्नेछन् । एउटै घरमा हुर्किएर विश्वका दुई फरक शक्तिशाली फुटबल राष्ट्रको प्रतिनिधित्व गर्ने यी दाजुभाइको कथा फुटबल इतिहासमै विरलै देखिने मध्येको एक हो ।

यही लयलाई पछ्याउँदै यो विश्वकपमा अर्को एउटा दाजुभाइको जोडी पनि थपिएको छ, जसले फरक टोलीबाट आफ्नो डेब्यु विश्वकप यात्रा तय गर्दैछन् । गुएला डुए र डिजायर डुए पनि यसै खेल उत्सवमा फरक-फरक देशको तर्फबाट मैदानमा आमनेसामने हुने सम्भावना छ । दाजु गुएलाले अफ्रिकी राष्ट्र आइभोरी कोस्टका लागि रक्षापङ्क्ति सम्हाल्दै गर्दा, उनका भाइ डिजायर भने फ्रान्सको बलियो टोलीबाट अग्रपङ्क्तिमा देखिनेछन् । फ्रान्सेली क्लब रेनेसको एकेडेमीमा सँगै फुटबल सिकेका यी दाजुभाइको फरक अन्तर्राष्ट्रिय यात्राले विश्वकपको गरिमा र यसको विश्वव्यापी स्वरूपलाई थप सुन्दर बनाएको छ ।