काठमाडौं ।
विद्यार्थी नेतृत्वमा सञ्चालन हुँदै आएको नेपालकै अग्रणी ह्याकाथनमध्ये एक ‘डियरह्याक २०२६’ भोलि (जुन १२–१४) देखि काठमाडौंस्थित डियरवाक कम्प्लेक्समा सुरु हुँदैछ। प्रविधिमार्फत नवीन समाधान विकास गर्न विद्यार्थी, डेभलपर, डिजाइनर तथा उद्यमशील सोच भएका युवाहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्यसहित आयोजना हुने यो कार्यक्रम आफ्नो चौथो संस्करणमा प्रवेश गरेको हो।
सन् २०२३ मा सुरु भएको डियरह्याकले छोटो अवधिमै नेपालमा नवप्रवर्तन र प्रविधि विकासको महत्वपूर्ण मञ्चका रूपमा पहिचान बनाएको छ। आयोजकका अनुसार हालसम्म ४ हजारभन्दा बढी आवेदक सहभागी भइसकेका छन् भने २५० भन्दा बढी टोली गठन भई २५० भन्दा बढी परियोजना विकास भएका छन्। कृत्रिम बौद्धिकता (एआई), शिक्षा, उद्यमशीलता, वातावरण संरक्षण तथा सामाजिक प्रभावजस्ता विविध क्षेत्रमा परियोजनाहरू निर्माण गरिएका छन्।
डियरह्याकबाट विकसित उल्लेखनीय परियोजनामध्ये ‘बन रक्षक’ विशेष चर्चामा रहेको छ। यो प्रणालीले रुखमा जडान गरिएका ध्वनि सेन्सरमार्फत अवैध वन फँडानीमा प्रयोग हुने भारी उपकरणको गतिविधि पहिचान गरी सम्बन्धित निकायलाई तत्काल सूचना पठाउने व्यवस्था प्रदान गर्छ। यस्तै ‘रिजनेट’ नामक अर्को परियोजनाले प्रारम्भिक चरणका उद्यमीलाई आफ्नो व्यवसायिक अवधारणा स्पष्ट पार्न, परीक्षण गर्न र परिष्कृत गर्न सहयोग पुर्याउने उद्देश्य राखेको छ।

यस वर्षको डियरह्याकमा नेपालका लगभग सबै क्षेत्रबाट सहभागीहरूको प्रतिनिधित्व रहने आयोजकले जनाएको छ। साथै, पहिलो पटक भारतका विद्यार्थीहरूको सहभागिताले कार्यक्रमलाई अन्तरदेशीय नवप्रवर्तन आदानप्रदानको मञ्चका रूपमा समेत विस्तार गरेको छ।
डियरह्याक २०२६ को प्रमुख प्रेरणादायी विषय ‘पर्यावरणीय दिगोपन’ (Environmental Sustainability) राखिए पनि सहभागीहरूलाई कुनै एक क्षेत्रमा सीमित नगरिने बताइएको छ। सफ्टवेयर, एआई, सामाजिक प्रभाव, उद्यमशीलता लगायत जुनसुकै क्षे मा पनि नवीन समाधान विकास गर्न सकिनेछ।
तीन दिनसम्म चल्ने कार्यक्रममा ह्याकिङ सत्र, उद्योग क्षेत्रका विज्ञहरूसँगको मेन्टरसिप, विभिन्न कार्यशाला तथा परियोजना प्रदर्शनी समावेश हुनेछन्। आयोजकका अनुसार कार्यक्रमले सिर्जनशीलता, समस्या समाधान क्षमता र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै युवाहरूलाई आफ्ना विचारलाई व्यवहारिक समाधानमा रूपान्तरण गर्ने अवसर प्रदान गर्नेछ।
डियरह्याकले आगामी वर्षहरूमा युरोप, उत्तर अमेरिका तथा अन्य क्षेत्रका सहभागीलाई समेत आकर्षित गर्दै विश्वव्यापी नवप्रवर्तन समुदाय निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ। ‘Fawning Over Innovation’ भन्ने मूल नारासहित सञ्चालन हुने डियरह्याकले युवा पुस्तामा जिज्ञासा, सिर्जनशीलता र साहसी सोचको विकासलाई प्राथमिकता दिँदै आएको छ।
सन् २०२३ मा स्थापना भएको डियरह्याक विद्यार्थीद्वारा सञ्चालित ह्याकाथन पहल हो, जसले नवप्रवर्तन, उद्यमशीलता र समस्या समाधानको संस्कृतिलाई प्रोत्साहन गर्दै युवाहरूलाई उद्योग क्षेत्रका विज्ञ तथा समान सोच भएका सहकर्मीसँग जोड्ने काम गरिरहेको छ।











प्रतिक्रिया