काठमाडौं ।
भारतीय जल तथा मौसम विज्ञान विभागले दक्षिणी बंगालको खाडी हुँदै विस्तार भएको मनसुनी वायु नेपाल प्रवेश गरिसकेको संकेत गरेको छ । भारतले आफ्नो मौसम नक्सामा नेपालको पूर्वी तथा मध्य तराईसम्म मनसुनी प्रणाली विस्तार भएको देखाएको हो । तर, नेपालको जल तथा मौसम विज्ञान विभागले भने मनसुन नेपाल प्रवेश गरेको औपचारिक घोषणा गरिसकेको छैन ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार भारतको मौसम विभागले देखाएको संकेतले नेपालको पूर्वी भेगसम्म मौसमी प्रणाली विकास भइरहेको देखिए पनि मनसुन पूर्ण रूपमा भित्रिएको निष्कर्ष निकाल्ने अवस्था अझै बनेको छैन ।
उनका अनुसार मनसुन प्रवेश यकिन गर्न वायुमण्डलमा जलवाष्पको मात्रा लगायतका सूचकहरूको विस्तृत अध्ययन आवश्यक हुन्छ । “पूर्वी भूभागमा मनसुनी वायुको गतिविधि देखिन थालेको छ, तर अझै परिपक्व भइसकेको छैन,” उनले बताए ।उनले यही साताभित्र नेपालमा मनसुन प्रवेशको औपचारिक घोषणा हुन सक्ने सम्भावना रहेको पनि उल्लेख गरे ।
हालको मौसम अवस्थाबारे जानकारी दिँदै उनले पूर्वी नेपालको मौसम प्रणालीमा मनसुनी प्रभाव देखिन थालेको बताए । कोशी प्रदेशका पहाडी भेगमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने लुक्ला विमानस्थल, नुम केन्द्र र सिन्धुलीको रानीचुरी क्षेत्रमा पनि हल्का वर्षा मापन गरिएको छ ।
तर, उनले हालको वर्षा गतिविधिलाई मात्र आधार मानेर मनसुन भित्रिएको घोषणा गर्न नसकिने स्पष्ट पारे ।
नेपालमा सामान्यतया जुन १३ (जेठ ३०) तिर मनसुन प्रवेश गर्ने गरेको तथ्यांक छ । अघिल्लो वर्ष भने मनसुन सरदरभन्दा करिब १५ दिन अगाडि, मे २९ मा नेपाल प्रवेश गरेको थियो ।नेपालमा मनसुन औसत १२० दिनसम्म रहने गर्छ । मौसमविद्हरूका अनुसार यस वर्ष पनि मनसुन सरदर समय आसपासमै प्रवेश गर्ने सम्भावना उच्च रहेको छ ।











प्रतिक्रिया