नक्कली सरकारी कार्यालय खोलेर ठगी गर्ने दम्पती पक्राउ


बर्दिया ।

बर्दियाको ठाकुरबाबा नगरपालिकामा नक्कली सरकारी कार्यालय स्थापना गरी सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक दम्पती पक्राउ परेका छन् । उनीहरूले बगनाहा बजारस्थित एक घर भाडामा लिएर फर्जी सरकारी कार्यालय सञ्चालन गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार ठाकुरबाबा नगरपालिका–३ स्थित उक्त घरमा “प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग, ठाकुरबाबा न.पा.–३, बर्दिया, टिकापुर, लम्की” नामक नक्कली बोर्ड राखेर कार्यालयको रूपमा देखाइ ठगी कार्य भइरहेको थियो ।

अनुसन्धानका क्रममा आरोपितहरूले सर्वसाधारणलाई सरकारी जागिर लगाइदिने प्रलोभन देखाई विभिन्न व्यक्तिहरूलाई झुक्याएको खुलेको छ । उनीहरूले स्थानीयलाई कर्मचारीका रूपमा फर्जी नियुक्तिपत्रसमेत दिएर विभिन्न काममा लगाउने तर कामको बदलामा कुनै ज्याला नदिने गरेको पाइएको प्रहरीले जनाएको छ ।

ठगी यतिमा मात्र सीमित नभएको पनि अनुसन्धानबाट खुलेको छ । आरोपितहरूले कार्यालय सञ्चालन गरिएको घरका धनीलाई समेत प्रभावमा पारेर घरको तला थप्न लगाएको र निर्माण कार्य गराए पनि न त निर्माण खर्च न त भाडा नै तिरेको पाइएको छ ।

घरधनीले आफू ठगिएको थाहा पाएपछि प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा आरोपितहरूले सरकारी कागजात, छाप तथा हस्ताक्षर आफैं तयार गरी किर्ते नियुक्तिपत्र बनाउने गरेको प्रमाण समेत फेला परेको प्रहरीले जनाएको छ।

गत जेठ २० गते प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका–३ का २४ वर्षीय घनश्याम न्यौपाने र दाङ लमही नगरपालिका–५ की २३ वर्षीया कृपा चौधरी (श्रीमती) रहेका छन् ।

हाल दुवैजनामाथि ठगी तथा लिखत सम्बन्धी कसुर (किर्ते) अन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । प्रहरीले घटनामा संलग्न अन्य पीडित तथा प्रमाणहरूको खोजी पनि जारी राखेको छ ।