राखेपको बेवास्ताले नेपाल ह्याण्डबल संघ संकटमा, निर्वाचन अलपत्र


काठमाडौँ। 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को लापरबाहीका कारण नेपाल ह्याण्डबल संघ लामो समयदेखि नेतृत्वविहीन बनेको छ। २०७२ पछि संघको साधारण सभा र निर्वाचन हुन सकेको छैन भने सात वर्षदेखि प्रक्रिया पूर्ण रूपमा रोकिएको छ।

२०७९ मा तदर्थ समिति गठन गरी २०८१ चैत ९ गते साधारण सभा र निर्वाचन गर्ने तयारी भए पनि अन्तिम समयमा राखेपले प्रतिनिधि नपठाउँदा कार्यक्रम स्थगित भयो। यसपछि पनि पटक–पटक माग गर्दा समेत प्रक्रिया अघि नबढेको गुनासो छ।

उच्च अदालत पाटनले तीन महिनाभित्र निर्वाचन गर्न परमादेश जारी गरे पनि अझै कार्यान्वयन नभएको आरोप छ। संघका प्रतिनिधिहरूले अदालतको आदेशको अवज्ञा भएको भन्दै असन्तुष्टि जनाएका छन्।

यसबीच संघको संरचना कमजोर बन्दै गएको र नेतृत्व विवाद तथा राजनीतिक हस्तक्षेपका कारण ह्याण्डबल खेलकै भविष्य जोखिममा परेको सरोकारवालाहरूको भनाइ छ।