नेपालको भौगोलिक विविधता जस्तै यहाँको खेलकुदको आकाश पनि विशाल र सम्भावनाले भरिएको छ । हिमालको काखदेखि तराईका फाँटहरूसम्म सहजै खेल्न मिल्ने र खेलिने खेल हो भलिबल । राष्ट्रिय खेलको मान्यता पाएसँगै यसको चर्चा र गरिमा चुलिएको मात्र छैन, यसले नेपालीपनको एउटा बलियो पहिचान समेत निर्माण गरेको छ । यही भलिबलको धरातलमा पछिल्लो समय महिला टोलीले अन्तर्राष्ट्रिय मञ्चमा जुन साहस र सामथ्र्य प्रदर्शन गरिरहेको छ, त्यसले हरेक नेपालीको छाती गर्वले ढक्क फुलाउँछ । काभा महिला च्याम्पियनसिपको ऐतिहासिक सफलता होस् या दक्षिण एसियाली खेलकुदमा रचिएका इतिहास, नेपाली महिला भलिबल अहिले स्वर्ण युगको संघारमा उभिएको छ । तर, यो सफलताको चमकभित्र लुकेका सङ्घर्षका कथाहरू निकै मार्मिक र प्रेरणादायी छन् । त्यस्तै, एउटा जीवन्त र उर्जावान खेलाडी हुन् राष्ट्रिय टोलीकी प्रभावशाली ’स्पाइकर’ निरुता ठगुन्ना । सुदूरपश्चिमको दुर्गम जिल्ला दार्चुलाको नौगाडबाट सुरु भएको उनको यात्रा, आज नेपाली भलिबल टोलीको राष्ट्रिय जर्सीसम्म आइपुग्दा एउटा सपनाले साकार रूप लिए जस्तै भएको छ । जसमा आँसु, पसिना, साहस र अटुट विश्वासको अनुपम समिश्रण भेटिन्छ ।

निरुताको बाल्यकाल नौगाडको त्यो परिवेशमा बित्यो, जहाँ छोरी मान्छेले खेलकुदलाई करियर बनाउने कल्पना गर्नु पनि एउटा विद्रोह जस्तै थियो । समाजमा ‘छोरीले छोटो लुगा लगाउनु हुँदैन’ भन्ने रुढीवादी सोचको पर्खाल उभिएको थियो । तर, निरुताको भित्रि हृदयमा भने अर्कै आँधी चलिरहेको थियो ।
उनी जसरी हुन्छ लुकिछिपी भलिबल खेल्न पुग्थिन् । खेल्ने तीव्र इच्छा र म्याचको शुल्क तिर्ने जोस यति थियो कि, उनले कयौँ पटक पत्तो नै नहुने गरी आफ्नै बुबाआमाको पसलबाट पैसा लिएर खेलको प्यास मेटाउने गर्थिन् । बुबा शिक्षक हुनुभएकाले यो बदमासी थाहा पाउँदा विद्यालयको प्राङ्गणमा सबैका अगाडि सजाय पाउँदा पनि उनको खेलप्रतिको मोह कहिल्यै डगमगाएन । सुरुमा एथलेटिक्सका विभिन्न विधा जस्तै दौड, त्रिपल जम्प र हाई जम्पमा आफ्नो कौशल देखाएकी निरुतालाई गाउँमा आफू निकै अग्लो लाग्थ्यो । तर, जब उनले राजधानी काठमाडौँमा पाइला टेकिन्, तब उनले महसुस गरिन् कि ५ फिट पाँच इन्च उचाइ मात्र पर्याप्त छैन, यहाँ त कौशल र निरन्तरको साधनाको पनि खाँचो छ । निल गुरु, भोजराज जोशी र प्रशिक्षक जगदीश भट्टको सन्तुलित मार्गदर्शनले उनलाई एथलेटिक्सको ट्रयाकबाट निकालेर भलिबलको कोर्टमा अवतरण गरायो । जसले उनको जीवनको दिशा र दशा दुवै बदलिदियो ।
नेपाली भलिबलको इतिहासमा निरुताको एउटा यस्तो संयोग छ जुन विरलै खेलाडीको पोल्टामा पर्छ । उनले त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लब गरी देशका तीनवटै शक्तिशाली विभागीय टोलीबाट खेल्ने अवसर पाइन् । यो केवल अवसर मात्र थिएन, उनको बहुआयामिक प्रतिभाको प्रमाण पनि थियो । आर्मीमा रहँदा उनले कठोर अनुशासन र धैर्यता सिकिन् भने एपीएफमा भित्रिएपछि आफ्नो भविष्यलाई थप सुनिश्चित र व्यावसायिक बनाइन् । नेपाल प्रहरी टोलीबाट भने उनले एउटा काभा क्लब च्याम्पियनसिप प्रतियोगितामा प्रतिस्पर्धा गरेकी थिइन् । अझ रोचक कुरा त के छ भने, प्रायः खेलाडीहरूको पहिलो वैदेशिक भ्रमण प्रतियोगिता खेल्नका लागि हुन्छ, तर निरुताको हकमा भने पहिलो अन्तर्राष्ट्रिय यात्रा नै वैदेशिक प्रशिक्षणका लागि रह्यो ।
सन् २०१९ मा बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोनबाट राष्ट्रिय टोलीमा डेब्यु गर्दा उनले जुन जर्सी लगाइन्, त्यो केवल एउटा कुनै टोलीलाई संकेत गर्ने लुगा मात्र थिएन । दार्चुलाको एउटा सानो गाउँबाट राष्ट्रिय नायक बन्ने सपनाको साकार रूप पनि थियो । सोही प्रतियोगितामा नेपालले स्वर्ण पदक जित्दा र इरानविरुद्धको कठिन सेमिफाइनल जित्दाका ती क्षणहरूमा निरुताको आँखाबाट बगेका आँसुले ४१ वर्षपछिको ऐतिहासिक पदकको भोक र तृप्ति दुवै व्यक्त गरिरहेको थियो ।

समय सधैँ एकनास रहँदैन । नेपाली भलिबल अहिले एउटा चुनौतीपूर्ण मोडमा छ । सफलताको उचाइमा पु¥याउने अनुभवी कप्तान अरुणा शाही अस्ट्रेलिया पलायन हुनु र सरस्वती चौधरी, प्रतिभा माली, सफिया पुन तथा कविता भट्ट जस्ता स्टार खेलाडीहरूले वैदेशिक गन्तव्य रोज्नुले टोलीमा एउटा रिक्तता सिर्जना गरेको छ । यो रिक्तताले राष्ट्रिय टोलीको मनोबल गिर्ला कि भन्ने कौतुहलता आम खेलप्रेमीको मनमा छ । यस्तोमा निरुता ठगुन्ना, उषा भण्डारी र सलिना श्रेष्ठ जस्ता खेलाडीहरु अहिले टोलीको बलियो खम्बाका रूपमा उभिएका छन् । निरुताले विगतमा भोगेका चोट र पीडाहरूलाई शक्तिमा बदल्दै ‘कमब्याक’ गरेकी छिन् । उनी भन्छिन्,“विगतका ती दुःखद क्षणहरू नकोट्याउँ, म त्यो पीडा फेरि सम्झन चाहन्नँ ।” तर, उनको यही मौनता र आत्मबलले उनलाई मानसिक रूपमा चट्टान जस्तै बलियो बनाएको छ । अहिले उनी कप्तानीको जिम्मेवारी मात्र होइन, नेपाली भलिबललाई नयाँ उचाइमा पु¥याउने संकल्पका साथ कोर्टमा उत्रन तयार छिन् । निरुताको दृढताले देखाउँछ कि शारीरिक चोट भन्दा मानसिक सङ्कल्प धेरै गुणा शक्तिशाली हुन्छ र त्यही सङ्कल्पले नै खेलाडीलाई पुनरागमनको बाटो देखाउँछ।
नेपाली भलिबलले प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पदक जित्न थालेको छ । तर, खेलाडीहरूले भोग्नुपर्ने अभाव भने अझै उस्तै छ । निरुता जस्ता खेलाडीहरू आज पनि सरकारसँग आफ्नै व्यवस्थित कभर्ड हल, अत्याधुनिक प्रशिक्षण केन्द्र र खेलाडीका लागि उचित आवासको माग गरिरहेका छन् । “बालेन शाह मेयर हुँदा पनि भलिबललाई माया गर्नुहुन्थ्यो, अहिले त प्रधानमन्त्री हुनुहुन्छ,” भन्ने उनको अभिव्यक्तिमा एकातिर आशा छ भने अर्कोतिर खेल क्षेत्रप्रति राज्यको न्यून लगानीप्रतिको गुनासो पनि झल्किन्छ । पर्याप्त पूर्वाधार र लगानी बिना पनि नेपाली चेलीहरूले दक्षिण एसियाली र मध्य एसियाली क्षेत्रमा जुन दबदबा कायम गरेका छन्, त्यसले के पुष्टि गर्छ भने यदि राज्यले थोरै मात्र सहयोग गरेमा नेपाली भलिबलले विश्वकै ध्यान खिच्न सक्छ । राज्यले केवल प्रशंसामा सीमित नभएर खेलाडीको भविष्य र सुविधामा पनि लगानी गर्नुपर्ने आजको आवश्यकता हो, ताकि निरुता जस्ता प्रतिभाहरूले आर्थिक चिन्ता बिना मैदानमा आफ्नो सर्वोत्कृष्ट प्रदर्शन गरिरहन सकून् ।
शसक्त स्पाइक हान्न माहिर निरुता नयाँ पुस्ताका बालिकाहरूका लागि पनि एउटा बलियो प्रेरणाको स्रोत समेत हुन् । “अग्लो उचाइ भएकी छोरीहरू नडराई भलिबलमा आउनुस्” भन्दै उनी जुन उत्साह छर्छिन्, त्यसले भोलिका दिनमा नेपालमा धेरै राम्रा भलिबल खेलाडी जन्मिने विश्वास दिलाउँछ । दार्चुलाको नौगाडको त्यो सानी केटी, जसले थाहै नदिई बुबाआमाले थापेको पसलबाट पैसा निकालेर भलिबल खेलेकी थिइन्, आज देशको इज्जत र प्रतिष्ठाको रक्षक बनेकी छिन् ।

उनको यो यात्रा केवल व्यक्तिगत सफलता मात्र होइन, इच्छाशक्ति र निरन्तरको संघर्षले असम्भवलाई पनि सम्भव तुल्याउन सकिन्छ भन्ने एउटा सार्वकालिक सन्देश हो । निरुता ठगुन्नाको जीवनको यो ‘सर्कल’ अझै पूरा भएको छैन । किनकि उनले नेपाली भलिबललाई अझै धेरै ऐतिहासिक मोडहरूमा पु¥याउनु छ ।
उनको मेहनतले सिकाउँछ कि सपना देख्न छोड्नु हुँदैन । किनकि नौगाडका पहाडहरूबाट देखिएका सपनाले पनि काठमाडौँको आकाश र अन्तर्राष्ट्रिय कोर्टहरूमा आफ्नो रङ भर्न सक्छन् । निरुताले शिखरसम्म पुग्ने बाटोमा देखाएको धैर्यता र साहसले हरेक नेपाली युवालाई आफ्नो सपनाप्रति वफादार रहन प्रेरित गरिरहनेछ ।











प्रतिक्रिया