उपत्यकाको मत गणनासँगै समीकरण उल्टियो, अध्यक्षमा डा. बद्री रिजाल अगाडि


काठमाडौं।

नेपाल चिकित्सक संघ (एनएमए) को जारी मतगणनामा काठमाडौं उपत्यकाको मत गणना सुरु भएसँगै नेतृत्वको समीकरण फेरिएको छ । उपत्यका बाहिरको मतगणनामा अग्रता बनाउनुभएको अध्यक्षका उम्मेदवार डा. मंगल रावललाई पछाडि पार्दै डा. बद्री रिजालले अग्रता लिनुभएको छ । पछिल्लो परिणामअनुसार रिजालको मतान्तर समेत विस्तार भएको छ ।

हालसम्म कुल ५ हजार ४२ मत गणना हुँदा अध्यक्ष पदमा डा. बद्री रिजालले २२३२ मत प्राप्त गर्नुभएको छ भने डा. मंगल रावलले २१६३ मत ल्याउनुभएको छ । डा. नारायण प्रसाद भुसाल ५८४ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।

महासचिव पदमा पनि प्रतिस्पर्धा रोचक बनेको छ । डा. विश्वराज दवाडीले १८८३ मतसहित अग्रता कायम गर्दा डा. कालुसिंह खत्रीले १७८२ मत प्राप्त गरेका छन् । डा. अमृत भुसाल ११५९ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।
वरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारीले आफ्नो अग्रता थप फराकिलो बनाउनुभएको छ । उहाले २०५७ मत ल्याउँदा डा. कीर्तिपाल सुवेदीले १६५३ मत प्राप्त गर्नुभएकोछ । डा. अजय कुमार मिश्र १०९२ मतसहित प्रतिस्पर्धामा छन् ।

प्रदेश संयोजक समेत रहनभएका उपाध्यक्ष पदमा भने उपत्यका बाहिरकै मत प्रवृत्ति कायम देखिएको छ । कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिममा पहिलेदेखि अग्रता लिएका उम्मेदवारहरूले आफ्नो स्थिति जोगाइरहेका छन् भने गण्डकी र कर्णालीमा पनि प्रतिस्पर्धा उस्तै अनुपातमा देखिएको छ ।

कोषाध्यक्ष पदमा डा. संयुक्त आचार्य २१६७ मतसहित अगाडि हुनुहुन्छ । डा. चाँदनी जैसवालले १५३९ तथा डा. बिनोद कुमार महसेठले ७५८ मत प्राप्त गरेछन् । त्यस्तै सह–सचिवमा डा. हुलास अग्रवाल २५५५ मतसहित स्पष्ट अग्रतामा हुनुहुन्छ । डा. रामजीवन प्रसादले ११७८ र डा. सन्तोष अधिकारीले ९०८ मत पाएका छन् । सह–कोषाध्यक्षमा डा. तेन्जु सिंह मल्ल २२७० मतसहित अगाडि रहँदा डा. सुभाष गुरुङले १६७७ र डा. राजकुमार दंगालले ६१७ मत प्राप्त गरेका छन् ।

सदस्य पदमा पल्पसा श्रेष्ठको ‘जम्प’

सदस्य पदतर्फ काठमाडौं उपत्यकाको मत गणना सुरु भएपछि डा. पल्पसा श्रेष्ठले उल्लेखनीय छलाङ मार्दै चौथो स्थानमा पुग्नुभएकोछ । लामो समय शीर्ष स्थानतर्फ रहेका डा. अरुण उप्रेती भने सातौँ स्थानमा झर्नुभएको छ । हालसम्म सदस्य पदमा डा. अमित झा २१२१ मतसहित शीर्ष स्थानमा हुनुहुन्छ । त्यसपछि डा. राकेश शाह (२०४९), डा. सुस्मित काफ्ले (१८६६), डा. पल्पसा श्रेष्ठ (१८११), डा. शेषराज घिमिरे (१७८३) र डा. हिमलाल भण्डारी (१७६९) क्रमशः अगाडि हुनुहुन्छ ।