काठमाडौं ।
विश्वकै संवेदनशील सामुद्रिक मार्गमध्ये एक मानिने Strait of Hormuz मा गएराति अमेरिकी र इरानी नौसेनाबीच भएको भीषण गोली हानाहानले अन्तर्राष्ट्रिय समुदायमा चिन्ता थपिएको छ।
दुई देशबीच आकस्मिक रूपमा भएको सैन्य झडपका क्रममा भारतको गुजरातबाट सञ्चालन हुँदै आएको एक मालवाहक जहाज समुद्रमा डुबेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। भारतीय दैनिक भास्करका अनुसार डुबेको जहाज गुजरातको द्वारका जिल्लास्थित सलाया क्षेत्रको रहेको हो।
‘एमएसभी एएल फैज नुर-ए-सोलेमानी-आई’ नामक उक्त कार्गो जहाज दुबईबाट विभिन्न व्यापारिक सामग्री बोकेर यमनको मुकाल्ला बन्दरगाहतर्फ जाँदै गरेको अवस्थामा युद्धग्रस्त समुद्री क्षेत्रमा फसेको थियो। घटनामा जहाजमा कार्यरत चालक दलका सदस्य अल्ताफ तालब केरको मृत्यु भएको पुष्टि भएको छ।
जहाजमा एक सशस्त्र सुरक्षाकर्मीसहित १८ जना सवार रहेकोमा अन्य १७ जनालाई सुरक्षित उद्धार गरिएको भारतीय नौकायन जहाज संघका महासचिव आदम भाइलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
उद्धार गरिएका केही सदस्य घाइते भएको बताइएको छ। उनीहरूको अवस्था तथा थप विवरण संकलन गर्न दुबईस्थित भारतीय दूतावासले समन्वय गरिरहेको बताइएको छ। घटनापछि होर्मुज क्षेत्रमा व्यापारिक जहाजहरूको सुरक्षा व्यवस्था थप कडा पारिएको अन्तर्राष्ट्रिय स्रोतहरूले जनाएका छन्।
हालसम्म अमेरिका र इरान दुवैले घटनाबारे औपचारिक विस्तृत प्रतिक्रिया सार्वजनिक गरेका छैनन्। तर पछिल्ला केही सातादेखि होर्मुज क्षेत्रमा अमेरिकी युद्धपोत र इरानी रिभोलुसनरी गार्डबीच तनाव बढ्दै गएको थियो।
यही तनावबीच भएको पछिल्लो भिडन्तले अब व्यावसायिक जहाज र सर्वसाधारणको सुरक्षामाथि समेत गम्भीर प्रश्न उठाएको छ। विश्लेषकहरूले होर्मुज जलमार्गमा बढ्दो सैन्य गतिविधिले विश्व व्यापार, तेल आपूर्ति र मध्यपूर्वको सुरक्षा अवस्थामै गम्भीर असर पार्न सक्ने चेतावनी दिएका छन्।
विश्वको ठूलो परिमाणको कच्चा तेल यही जलमार्ग हुँदै ओसारपसार हुने भएकाले यहाँको अस्थिरताले अन्तर्राष्ट्रिय बजारमा समेत प्रभाव पार्न सक्ने देखिएको छ।











प्रतिक्रिया