प्रधानमन्त्री कार्यालयमा त्रास फैलियो


काठमाडौँ।

प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वको कार्यालयमा कार्यशैलीप्रति कर्मचारीहरूले गम्भीर असन्तुष्टि जनाएका छन्। युवा टोलीबाट छिटो नतिजा खोज्ने दबाब स्वाभाविक भए पनि हाल कार्यालयमा डर, त्रास र धम्कीको वातावरण सिर्जना भएको कर्मचारीहरूको भनाइ छ।

कर्मचारीहरूका अनुसार सुवास शर्मा लगायतका व्यक्तिहरूले वरिष्ठ कर्मचारीसँग पनि असम्मानजनक व्यवहार गर्ने, गाली गर्ने तथा थर्काउने प्रवृत्ति देखिएको छ। सामान्य शिष्टाचारसमेत पालना नभएको र कानुनी प्रक्रिया भन्दा व्यक्तिगत निर्देशनलाई प्राथमिकता दिइएको गुनासो गरिएको छ।

यस विषयमा मुख्यसचिव सुमनराज अर्याल र निजी सचिव प्रदीप परियार मार्फत प्रधानमन्त्रीसमक्ष कुरा राखिएको भए पनि सुधार नदेखिएको स्रोतले जनाएको छ। साथै, अन्य मन्त्रालयका कर्मचारीमाथि समेत निगरानी बढाइएको र प्रहरी प्रयोग गरी सुराकी गरिएको आरोप छ।

यस्ता गतिविधिले कर्मचारीको मनोबल घटाउने र कार्यसम्पादनमा नकारात्मक असर पर्ने भन्दै कर्मचारीहरूले वातावरण सुधारका लागि बारम्बार आग्रह गरिरहेका छन्।