काठमाडौँ।
अछामको ढकारी गाउँपालिकामा चलचित्र निर्माणका नाममा सरकारी बजेट दुरुपयोग गरेको आरोपमा अध्यक्षसहित चार जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, लेखापाल विमल साउद तथा आरजे २४ न्युज र नव इन्द्रेणी फाउण्डेसनका अध्यक्ष रामजी लम्सालविरुद्ध बिहीबार भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
उनीहरूले मिलेमतोमा ‘अन्धपथ’ नामक चलचित्र निर्माणका लागि करिब १५ लाख रुपैयाँ बराबरको सम्झौता गरी सार्वजनिक खरिद ऐन तथा नियमावलीविपरीत काम गरेको अनुसन्धानबाट खुलेको छ।
बिना प्रतिस्पर्धा सोझै खरिद प्रक्रिया अपनाइएको, लागत अनुमान तथा आवश्यक तयारी नगरी सम्झौता गरिएको र कानुनले तोकेको सीमा भन्दा बढी पेश्की रकम भुक्तानी गरिएको थियो। साथै, बैङ्क जमानत नलिई पेश्की दिइएको र नक्कली बिलमार्फत थप रकम खर्च देखाइएको पनि उल्लेख छ।
अनुसन्धानबाट करिब १२ लाख ७७ हजार २५० रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति दुरुपयोग भएको पुष्टि भएको अख्तियारले जनाएको छ।
उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कसुर ठहर गर्दै बिगो असुल, जरिवाना तथा कैद सजायको माग गरिएको छ। साथै, पदमा रहेका अध्यक्ष साउदलाई थप सजायको मागसमेत गरिएको छ।











प्रतिक्रिया