सोमबारभित्र केन्द्रका फाइल शून्य बनाउन निर्देशन


काठमाडौ ।

सुनिता डंगोल ले वडाबाट केन्द्रमा आएका सबै फाइल प्रत्येक हप्ताको सोमबारभित्र शून्य बनाउन निर्देशन दिनुभएको छ ।

पाक्षिक समीक्षा कार्यक्रममा उहाँले विभागीय प्रमुखहरूलाई प्रक्रिया मिलेका फाइल स्वीकृत गर्न तथा नमिलेका फाइल कारण खुलाएर फिर्ता पठाउन निर्देशन दिनुभयो ।

साथै, वडाको बजेटबाट गुणस्तरीय रूपमा कार्यान्वयन गर्न नसकिने कार्यक्रम सञ्चालन नगर्न वडा सचिवहरूलाई आग्रह गर्नुभयो ।

सम्पन्न योजनाको लाभ–लागत विश्लेषण, कार्यान्वयनमा रहेका योजनाको गुणस्तर तथा समस्यामा परेका योजनाको समाधानका लागि सम्बन्धित विभागसँग समन्वय गरेर नतिजामुखी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा वडा सचिवहरूले उपभोक्ता समितिबाट समयमा कागजात नआउने, इन्धन मूल्यवृद्धिका कारण निर्माण कार्य ढिलाइ हुने तथा बजेट शीर्षक बाहिरका कार्यक्रमका माग बढेको विषय उठाएका थिए ।

प्रशासन विभाग प्रमुख महेश काफ्ले ले जनशक्ति व्यवस्थापनलाई वैज्ञानिक बनाइने बताउनुभयो भने वित्त विभाग प्रमुख डा. शिवराज अधिकारी ले बेरुजु घटाउन केन्द्र र वडा मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।