अर्थतन्त्रका बाह्य सूचकमा सुधार


काठमाडौं ।

नेपालको बाह्य आर्थिक क्षेत्रमा चालु आर्थिक वर्ष २०८२÷८३ को चैत मसान्तसम्म उल्लेखनीय सुधार देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नौ महिनाको तथ्यांकअनुसार विप्रेषण आप्रवाह, विदेशी मुद्रा सञ्चिति, शोधनान्तर स्थिति र चालु खातामा ऐतिहासिक सुधार देखिएको हो ।

चैतसम्म मुलुकमा भित्रिएको विप्रेषण ३९.१ प्रतिशतले वृद्धि भई १६ खर्ब ५९ अर्ब रुपियाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम उल्लेखनीय रूपमा कम थियो । अमेरिकी डलरमा समेत रेमिटेन्स आप्रवाह ३१.८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । रेमिट्यान्स वृद्धिसँगै विदेशी मुद्रा सञ्चितिमा लगातार नयाँ रेकर्ड कायम भइरहेको छ ।

नौ महिनामा नेपालको कुल विदेशी विनिमय सञ्चिति ३४ खर्ब ९४ अर्ब रुपियाँ पुगेको छ भने अमेरिकी डलरमा यस्तो सञ्चिति २३ अर्ब ५५ करोड डलर बराबर रहेको छ । राष्ट्र बैंकका अनुसार हालको सञ्चितिले १८ महिना १२ दिनसम्म वस्तु तथा सेवाको आयात धान्न सक्ने अवस्था रहेको छ, जुन अन्तर्राष्ट्रिय मापदण्डअनुसार अत्यन्त सहज मानिन्छ ।

सामान्यतया सात महिनाको आयात धान्न सक्ने सञ्चिति पर्याप्त ठानिन्छ । यस अवधिमा शोधनान्तर स्थिति ७ खर्ब ३१ अर्ब १६ करोड रुपियाँ बचतमा पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो बचत ३ खर्ब ४६ अर्ब रुपियाँ थियो । अमेरिकी डलरमा शोधनान्तर बचत ५ अर्ब १० करोड पुगेको छ ।
त्यसैगरी चालु खाता पनि उल्लेख्य रूपमा सुधारिएको छ ।

चैतसम्म चालु खाता ६ खर्ब १८ अर्ब ६८ करोड रुपियाँ बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो २ खर्ब २२ अर्ब रुपियाँ बचतमा मात्र थियो । अमेरिकी डलरमा चालु खाता बचत ४ अर्ब ३२ करोड पुगेको छ । विदेशी लगानीतर्फ पनि सुधार देखिएको छ । प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) ६२.७ प्रतिशतले बढेर १४ अर्ब ५५ करोड रुपियाँ पुगेको छ ।

खुद पुँजीगत ट्रान्सफर पनि १४ अर्ब ५० करोड रुपियाँ पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । वैदेशिक व्यापारतर्फ आयात र निर्यात दुवैमा वृद्धि भएको छ । चैतसम्म आयात १३.८ प्रतिशतले बढेर १४ खर्ब ९० अर्ब रुपियाँ पुगेको छ भने निर्यात १८.५ प्रतिशतले बढेको छ ।

यद्यपि व्यापार घाटा भने अझै उच्च अवस्थामा कायम रहेको छ । बैंकिङ क्षेत्रमा पनि निक्षेप तथा कर्जा विस्तार भएको छ । बैंक तथा वित्तीय संस्थामा निक्षेप ८.५ प्रतिशतले बढेर करिब ७९ खर्ब रुपियाँ पुगेको छ । वार्षिक आधारमा निक्षेप वृद्धि १५.५ प्रतिशत रहेको छ । निजी क्षेत्रमा प्रवाहित कर्जा ५.७ प्रतिशतले बढेर करिब ५९ खर्ब रुपियाँ पुगेको छ भने वार्षिक आधारमा कर्जा वृद्धि ६.९ प्रतिशत रहेको छ ।

कर्जा संरचनामा कृषि क्षेत्रमा जाने कर्जा २.३ प्रतिशतले घटेको देखिए पनि उत्पादन, सेवा तथा उपभोग क्षेत्रतर्फ विस्तार भएको छ। रियल इस्टेट, हायर पर्चेज तथा उपभोग कर्जामा वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । यता महँगी दर भने पछिल्ला महिनामा क्रमशः उकालो लागेको छ। चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४७ प्रतिशत पुगेको छ।

गत वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ३.३९ प्रतिशत थियो। खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.०१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.७२ प्रतिशत पुगेको छ । घिउ तथा तेल, फलफूल र तरकारीको मूल्य सबैभन्दा धेरै बढेको छ । गैरखाद्य समूहमा यातायात, शिक्षा तथा विविध सेवा क्षेत्रमा उच्च मूल्यवृद्धि देखिएको छ ।

काठमाडौँ उपत्यकामा मुद्रास्फीति ४.६९ प्रतिशत पुगेको छ भने प्रदेशगत रूपमा लुम्बिनीमा सबैभन्दा बढी ५.१५ प्रतिशत महँगी देखिएको छ । राष्ट्र बैंकका अनुसार मध्यपूर्वमा जारी तनावका कारण इन्धन तथा आपूर्ति प्रणालीमा परेको असरले दक्षिण एसियाली मुलुकहरूमा महँगी दबाब बढेको छ। यद्यपि औसत मुद्रास्फीति भने अझै नियन्त्रणमै रहेको राष्ट्र बैंकको विश्लेषण छ ।