काठमाडौं ।
अमेरिका–इरान तनाव चर्किँदै जाँदा खाडी क्षेत्रमा नयाँ सुरक्षा संकट देखिएको छ। इरानले शनिबार संयुक्त अरब इमिरेट्स (यूएई)को रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण फुजाइरा बन्दरगाहमा ड्रोन हमला गरेको जनाएको छ।
अमेरिकाले इरानको खार्ग द्वीपमा भीषण आक्रमण गरेको केही समयपछि उक्त ड्रोन हमला भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यूएईका अधिकारीहरूले फुजाइरा बन्दरगाह क्षेत्रमा आगलागी भएको पुष्टि गर्दै आगो नियन्त्रणमा लिन दमकल तथा सुरक्षा टोली खटाइएको बताएका छन्। उनीहरूका अनुसार हवाई प्रतिरक्षा प्रणालीले ड्रोनलाई आकाशमै नष्ट गरे पनि त्यसका अवशेष खस्दा बन्दरगाह परिसरमा आगलागी भएको हो।
फुजाइरा बन्दरगाह यूएईका लागि मात्र होइन, सम्पूर्ण मध्यपूर्व क्षेत्रकै महत्वपूर्ण ऊर्जा केन्द्रमध्ये एक मानिन्छ। यो बन्दरगाह विश्वकै ठूलो तेल भण्डारण तथा पानीजहाजमा इन्धन भर्ने केन्द्रहरूमध्ये एक हो।
ओमानको खाडीमा अवस्थित उक्त बन्दरगाहको अर्को रणनीतिक महत्त्व पनि रहेको छ। यहाँ पुग्न पानीजहाजहरूले हर्मुज स्ट्रेट पार गर्नुपर्दैन, जसले गर्दा पछिल्ला दुई सातायता क्षेत्रीय युद्धका कारण अवरुद्ध जस्तै बनेको जलमार्गको विकल्पका रूपमा यसलाई प्रयोग गरिँदै आएको थियो।
ड्रोन हमलापछि सामाजिक सञ्जाल तथा अनलाइन माध्यममा सार्वजनिक भएका फुटेजहरूमा यूएईको पूर्वी तटस्थित उक्त औद्योगिक परिसरबाट बाक्लो धुवाँको मुस्लो उठिरहेको देखिएको छ।
यसबीच इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर (आईआरजीसी)ले अमेरिकाले खार्ग द्वीपमा आक्रमण गरेपछि यूएईका बन्दरगाह र त्यहाँ रहेका अमेरिकी सैन्य संरचनाहरू अब आफ्नो लागि ‘वैध निशाना’ बनेको चेतावनी दिएको छ।
तेहरानका लागि खार्ग द्वीप अत्यन्त महत्त्वपूर्ण ऊर्जा केन्द्र हो। इरानको अधिकांश कच्चा तेल निर्यात यही द्वीपमार्फत हुने भएकाले त्यसमा भएको आक्रमणले इरानी अर्थतन्त्रलाई प्रत्यक्ष असर पार्ने विश्लेषकहरूले बताएका छन्।
इरानी सेनाको खताम मुख्यालयका प्रवक्ता कर्णेल इब्राहिम जुल्फीगरीले यूएईका बन्दरगाहमा रहेका अमेरिकी क्षेप्यास्त्र प्रणाली तथा अमेरिकी सैनिकहरू लुकेर बसेका स्थानहरूमा आक्रमण गर्ने इरानको ‘वैध अधिकार’ रहेको बताएका छन्।
उनले सम्भावित आक्रमणबाट जोगिन यूएईका सहरहरू खाली गर्न मुस्लिम समुदायलाई समेत आह्वान गरेका छन्।
यसअघि खाडी मुलुक कतारमा पनि अमेरिकी व्यापारिक तथा रणनीतिक स्वार्थ जोडिएका केही स्थानहरू खाली गर्न अधिकारीहरूले आदेश दिएका थिए। इरानले ती स्थानलाई पनि सम्भावित वैध निशाना बनाउन सक्ने संकेत दिएपछि त्यहाँ सुरक्षा सतर्कता बढाइएको हो।
कतारको राजधानी दोहास्थित मुशेइरेब डिस्ट्रिक्ट—जहाँ गुगल र अमेरिकन एक्सप्रेसजस्ता अमेरिकी कम्पनीहरूको कार्यालय छन्—त्यहाँ कार्यरत मानिसहरूलाई फोनमार्फत सावधानी सन्देश पठाउँदै तत्काल क्षेत्र छाड्न आग्रह गरिएको बताइएको छ।
विश्लेषकहरूका अनुसार अमेरिका–इरानबीचको बढ्दो प्रत्यक्ष टकरावले खाडी क्षेत्र मात्र होइन, विश्व ऊर्जा बजार र अन्तर्राष्ट्रिय सुरक्षामाथि गम्भीर असर पार्ने संकेत देखिएको छ।












प्रतिक्रिया