उस्मान हादी हत्या प्रकरण : पश्चिम बंगालमा दुई संदिग्ध पक्राउ


काठमाडौँ।

भारतको पश्चिम बंगाल प्रहरीले बंगलादेशी राजनीतिक कार्यकर्ता तथा विद्यार्थी आन्दोलनका एक प्रमुख व्यक्तित्व शरीफ उस्मान हादीको हत्या प्रकरणमा संलग्न रहेको आशंकामा दुई जनालाई पक्राउ गरेको छ।

बीबीसी बंगलाका अनुसार पश्चिम बंगाल प्रहरीको विशेष कार्यबल (एसटीएफ) ले गोप्य सूचनाका आधारमा छापा मार्दै दुई बंगलादेशी नागरिकलाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार उनीहरू बंगलादेशमा जबरजस्ती असुली र हत्या जस्ता गम्भीर अपराधमा संलग्न भएर देशबाट फरार भई अवैध रूपमा भारत प्रवेश गरेका थिए।

पक्राउ पर्नेहरूमा पटुआखलीका राहुल उर्फ फैसल करीम मसूद र ढाकाका आलमगीर हुसेन रहेका छन्। उनीहरूलाई भारत–बंगलादेश सीमासँग जोडिएको बानगाउँ क्षेत्रबाट मध्यरातमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक सोधपुछमा फैसल करीम मसूदले आलमगीर हुसेनसँग मिलेर बंगलादेशी राजनीतिक कार्यकर्ता उस्मान हादीको हत्या गरेको स्वीकार गरेको बताइएको छ। घटना पछि उनीहरू फरार भई विभिन्न स्थान हुँदै मेघालय सीमाबाट अवैध रूपमा भारत प्रवेश गरेको खुलासा भएको छ।

त्यसपछि बंगलादेश फर्कने उद्देश्यले उनीहरू पश्चिम बंगालको बानगाउँ पुगेको पनि अनुसन्धानबाट खुलेको छ।

उस्मान हादीलाई गत वर्ष डिसेम्बरमा बंगलादेशको राजधानी ढाकामा गोली हानी हत्या गरिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएपछि ढाकामा व्यापक हिंसा भड्किएको थियो।-बीबीसी