महिला सशक्तीकरणका लागि स्टार क्रिकेट सिजन–२ हुने


काठमाडौं ।

आइडिया पिक्सेलको भगिनी संस्था आइडिया स्पोट्र्सको आयोजनामा सेलिब्रेटी क्रिकेट प्रतियोगिता ‘स्टार क्रिकेट’ को दोस्रो संस्करण आयोजना हुने भएको छ ।

सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत आगामी चैत १ गते काठमाडौँको मूलपानी क्रिकेट रङ्गशालामा यो प्रतियोगिता हुने जानकारी गराइएको हो । ‘महिला डिजिटल सशक्तीकरण’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यो प्रतियोगिता एक कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम हो।

यस वर्षको प्रतियोगिताबाट संकलित रकम सृष्टि फाउन्डेसनको ‘वुमन इन आईटी’ (डब्लुआइआइटी) अभियानलाई सहयोग गरिने आयोजकले जनाएको छ । यो अभियानले नेपालका ग्रामीण क्षेत्रका महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा शिक्षित र सशक्त बनाउने लक्ष्य राखेको छ । खेलकुदको माध्यमबाट सामाजिक परिवर्तन ल्याउने र पिछडिएका समुदायका महिलाहरूलाई डिजिटल अवसरहरूसँग जोड्ने उद्देश्यले यस पटक पनि स्टार क्रिकेटलाई निरन्तरता दिइएको हो ।

प्रतियोगिताको ढाँचाबारे जानकारी दिँदै आयोजकले यस पटक फास्ट–पेस्ड टि–१० प्रारुपमा खेल खेलाइने बताएका छन् । जसमा कुल आठ टोलीलाई दुई समूह ‘ए’ र ‘बी’ मा विभाजन गरिनेछ । प्रत्येक खेल ५–५ ओभरको हुनेछ भने समूहका उत्कृष्ट चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगितामा नेपालका चर्चित कलाकार, सामाजिक सञ्जालका प्रभावशाली व्यक्तित्व, कन्टेन्ट क्रिएटर र राष्ट्रिय स्तरका क्रिकेट खेलाडीहरूको सहभागिता रहनेछ । प्रतियोगिता हेर्न चाहने दर्शकहरूका लागि खेलस्थलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । मनोरञ्जनका साथै सामाजिक कार्यमा योगदान पुर्‍याउने उद्देश्यले आयोजित यस कार्यक्रमले महिला सशक्तीकरण र डिजिटल समावेशीकरणका बारेमा जनचेतना फैलाउने अपेक्षा गरिएको छ ।