बालबालिका र किशोर–किशोरीमा बढ्दै मानसिक समस्या

1.88k
Shares

सुर्खेत । 

कर्णाली प्रदेशमा नसर्ने रोगहरूमध्ये मानसिक स्वास्थ्य समस्या चुनौती बन्दै गएको पाइएको छ । कर्णाली प्रदेश अस्पतालमा उपचार गराएका अधिकांश २० वर्षमुनिका बालबालिका तथा किशोर–किशोरीमा नसर्ने रोगमध्ये मानसिक समस्या देखिएको छ।

बिहीबार सिएमसी नेपालको प्राविधिक सहयोगमा सामाजिक विकास मन्त्रालयले आयोजना गरेको बालबालिका तथा किशोर–किशोरी मानसिक स्वास्थ्य सम्बन्धी सरोकारवाला निकायसँगको समन्वय बैठकमा कर्णाली प्रदेश अस्पतालका मानसिक रोग विशेषज्ञ डा. सुशील समदर्शीले २० वर्षमुनिका ९८५ बालबालिकामा नसर्ने रोग देखिएको जानकारी दिए । सानै उमेरमा नसर्ने रोग पुष्टि भएका अधिकांश बालबालिकामा मानसिक समस्या बढी रहेको उनले बताए ।

उनका अनुसार अहिले दैनिक जसो ८ देखि १० जना बालबालिका तथा किशोर–किशोरी मानसिक समस्या लिएर उपचारका लागि आउने गरेका छन् । यो तथ्यांकले भविष्यमा घर–घरमै मानसिक समस्या भएका व्यक्तिले भरिने जोखिम देखाएको उनले औंल्याए ।

बालबालिकाको तनाव बुझ्न नसक्दा यसको असर विद्यालय तहमा समेत परेको डा. समदर्शीले बताए । तनाव र उदासिनताका कारण पछिल्लो समय बालबालिका तथा किशोर–किशोरीमा लागुऔषध दुव्र्यसन बढ्दै गएको उनले बताए ।

“लागुऔषधलाई उपचारात्मकभन्दा अपराधीकरण गर्ने प्रवृत्तिले मानसिक समस्या झन् बढेको छ,” उनले भने, “लागुऔषध प्रयोगको रुट कजसम्म पुगिएको छैन । सचेतनाको पाटो कमजोर छ । बालबालिकामा भएको तनाव बुझ्ने माध्यम नहुँदा लागुऔषधको जोखिम बढ्दै गएको छ । मानसिक समस्याले विद्यालय रित्तिने जोखिम उच्च छ ।”

लागुऔषध प्रयोग र मानसिक समस्याका विषयमा भइरहेको सतही अध्ययनले समस्या समाधान नहुने उल्लेख गर्दै उनले सेवा प्रदायक संस्था, जनशक्ति र आवश्यक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए । उनका अनुसार बालबालिका र वयस्कमा आत्महत्याको प्रयास पनि बढ्दै गएको छ । यसको मुख्य कारण चिन्ता व्यवस्थापन, उदासिनता र लागुऔषध सेवनसँग जोडिएको उनको भनाइ छ ।

मानसिक स्वास्थ्य सेवा प्रदायक, अभिभावक, विद्यालय र सुरक्षा निकायले यस विषयलाई बुझ्ने प्रयास नै नगरेको उनले बताए । मानसिक समस्या र लागुऔषध दुव्र्यसनको जरो पत्ता नलगाएसम्म जस्तोसुकै सेवा दिए पनि मानसिक समस्या निर्मूल नहुने उनको तर्क छ ।

यस्तै, सिएमसी नेपालका प्रदेश संयोजक हिमाल गैरेले कर्णालीमा मानसिक स्वास्थ्य समस्या प्रमुख चुनौतीका रूपमा देखा पर्दै गएको बताए । सिएमसीले कर्णालीका विभिन्न जिल्लामा सञ्चालन गरेका मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रममार्फत सेवा लिएकाहरूको तथ्यांक डरलाग्दो रहेको उनले बताए ।

उनका अनुसार सुर्खेतका चार पालिकाका १,५२६ जनाले मानसिक स्वास्थ्य सम्बन्धी सेवा लिएका छन्, जसमध्ये १२६ जनाले टेलिमेडिसिनमार्फत सेवा लिएका छन् । शारीरिक अपाङ्गतामध्ये मनोसामाजिक अपाङ्गताको पाटो बाहिर आउन नसकेको उल्लेख गर्दै उनले समस्या लिएर उपचारमा आउनेहरूको संख्या बढ्दै गएको बताए । उपचारमा आउनेमध्ये बालबालिका र वयस्कको संख्या बढी रहेको उनले जानकारी दिए ।

किन बढ्दै छ मानसिक समस्या ?

सिएमसी नेपालले कर्णालीका ६ जिल्लामा सञ्चालन गरेका कार्यक्रमबाट मानसिक स्वास्थ्य नीतिगत कमजोरीका कारण ओझेलमा परेको निष्कर्ष निकालेको छ । प्रदेश संयोजक हिमाल गैरेका अनुसार विद्यालय तहमा बालबालिका तथा किशोर–किशोरीको मानसिक समस्या पहिचान, रोकथाम र व्यवस्थापनका लागि स्पष्ट नीति अभाव छ ।

नियमित अनुगमन, तथ्यांक संकलन र गुणस्तर मूल्याङ्कन नहुँदा कार्यक्रम प्रभावकारी बन्न नसकेको जनाइएको छ । साथै, तालिमप्राप्त जनशक्तिको उच्च पलायन र मनोसामाजिक परामर्शदाता तथा फोकल पर्सनको निरन्तरताको अभावले सेवा प्रवाह प्रभावित भएको छ ।

यसका अतिरिक्त, मानसिक स्वास्थ्य उपचारका लागि आवश्यक मनोचिकित्सकीय औषधि आपूर्ति पनि चुनौतीपूर्ण बन्दै गएको छ । सरकारको नीति समस्या भइसकेपछि के गर्ने भन्नेमा सीमित रहेकाले मानसिक स्वास्थ्यलाई समुदायस्तरमा लैजान, विद्यालय पाठ्यक्रममा समावेश गर्न र हेय दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको गैरेले बताए ।