बानेश्वरको कात्यायनीचोकमा ‘करेन्ट मार्ट’ सञ्चालनमा


काठमाडौँ
नेपाली बजारमा ‘हट एण्ड स्पाइसी’ नुडल्स सेग्मेन्टमा बलियो उपस्थिति बनाइसकेको ‘करेन्ट नुडल्स’ उत्पादन गर्ने यसोडा फुड्स प्रालिले आफ्नो रिटेल आउटलेट ‘करेन्ट मार्ट’ को दोस्रो शाखा काठमाडौँमा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा आइतबारदेखि काठमाडौँको बानेश्वरस्थित कात्यायनीचोकमा औपचारिक रूपमा सुरु गरिएको हो ।

भैरहवामा सञ्चालनमा रहेको पहिलो करेन्ट मार्टको उल्लेखनीय सफलता र उपभोक्ताको बढ्दो मागलाई ध्यानमा राख्दै कम्पनीले राजधानी काठमाडौँमा नयाँ शाखा विस्तार गरेको जनाएको छ । यसले उपभोक्तालाई यसोडा फुड्सका सम्पूर्ण उत्पादन सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखेको छ ।

नयाँबानेश्वरको कात्यायनीचोकमा अवस्थित करेन्ट मार्टको भव्य उद्घाटन यसोडा फुड्सका डाइरेक्टर श्री मधुसुदन घिमिरे तथा नेसनल सेल्स म्यानेजर युगराज पाण्डेले संयुक्त रूपमा रिबन काटेर गर्नुभएको थियो । उद्घाटन समारोहमा डाइरेक्टर घिमिरेले करेन्ट मार्टको अवधारणा, उद्देश्य र उपभोक्तालाई प्रदान गरिने सुविधाबारे मिडियालाई जानकारी गराउनुभएको थियो ।

उद्घाटन कार्यक्रममा कम्पनीका एरिया सेल्स म्यानेजरहरू सोनी पुडासैनी, विमला खत्री, सपना भुसाललगायतको उपस्थिति रहेको थियो। साथै, ग्राहक तथा शुभेच्छुकको उल्लेखनीय सहभागिता रहेको थियो ।

नवनिर्मित करेन्ट मार्टमा उपभोक्ताले यसोडा फुड्सद्वारा उत्पादित सम्पूर्ण रेन्जका उत्पादन एकै स्थानमा प्राप्त गर्न सक्नेछन् । यहाँ करेन्ट ब्रान्डका लोकप्रिय नुडल्स (चाउचाउ), विभिन्न प्रकारका स्न्याक्स, चिज बल्स, स्टिक्स, पोट्याटो क्र्याकर्सका साथै करेन्ट गोल्ड मसाला र सिटिसी चिया पनि उपलब्ध छन् । त्यसैगरी जिरा पाउडर, धनियाँ पाउडर, रातो खुर्सानी पाउडरलगायत विभिन्न मसला सामग्रीसमेत मार्टमा पाइने कम्पनीले जनाएको छ ।

उद्घाटनका क्रममा बोल्दै यसोडा फुड्सका चेयरम्यान चुन्न प्रसाद पौडेलले भन्नुभयो, “भैरहवाका उपभोक्ताहरूले करेन्ट मार्टलाई दिनुभएको माया र विश्वासले हामीलाई राजधानीमा पनि सेवा विस्तार गर्न प्रेरित गरेको हो । अब कात्यायनीचोकबाटै उपभोक्ताले हाम्रा ताजा र गुणस्तरीय उत्पादनहरू सहज रूपमा खरिद गर्न सक्नुहुनेछ ।”

यसअघि कम्पनीले काठमाडौँको अनामनगर र शंखमूलमा ‘करेन्ट पोइन्ट’ मार्फत नुडल्स पारखीलाई नयाँ स्वाद उपलब्ध गराउँदै आएको सन्दर्भमा, नयाँ करेन्ट मार्टले प्याकेज्ड फुड खरिद गर्न चाहने ग्राहकहरूका लागि थप सुविधा दिने विश्वास लिइएको छ ।

सन् २०१७ मा स्थापना भएको यसोडा फुड्स प्रा. लि. नेपालकै अग्रणी खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनीमध्ये एक हो । गुणस्तर र नवीनताप्रति प्रतिबद्ध कम्पनीले छोटो समयमै नेपाली उपभोक्ताको मन जित्न सफल भएको छ । ‘करेन्ट’ ब्रान्डअन्तर्गत उत्पादन हुने पिरो तथा स्वादिष्ट चाउचाउ विशेषगरी युवापुस्तामाझ अत्यधिक लोकप्रिय छन् । हाल कम्पनीले आफ्ना उत्पादन नेपालभरि वितरण गर्नुका साथै विश्वका २२ भन्दा बढी देशमा निर्यात गर्दै नेपाली स्वादलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउँदै आएको छ ।