विश्वकप लिग २ मा नेपाल स्कटल्यान्डसँग पराजित


विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक ओडिआई शृङखलामा स्कटल्याण्डविरुद्ध घरेलु टोली नेपाल २ रनले पराजित भएको छ । मंगलबार त्रिवि मैदानमा भएको रोमाञ्चक खेलमा नेपालले २ सय २१ रनको लक्ष्य पछ्याउने क्रममा २ सय १८ रनमै समेटिएको हो ।

स्कटल्यान्डले सुरुमा २४४ रनको लक्ष्य दिएको थियो । केही क्षण वर्षा हुँदा खेल रोकिएको थियो । यसपछि खेल सुचारु हुँदा नेपालको लागि नयाँ लक्ष्य ३९ ओभरमा २२० रन बनाउनु पर्ने भएको थियो । जुन नेपालले पार गर्न सकेन ।

नेपालको ब्याटिङमा गुल्सन झाले सर्वाधिक ६१ रन बनाए । नटआउट रहेका उनले अन्तिम ओभरमा १३ रन आवश्यक हुँदा मात्र १० रन बटुलेका थिए । यसअघि दीपेन्द्र सिंह ऐरीले ५५ रनको सानदार इनिङ खेले । उनको यो आठौं ओडीआई (एकदिवसीय अन्तर्राष्ट्रिय) अर्धशतक हो ।

यसअघि स्कटल्याण्डका लागि ओपनर जर्ज मुन्सेले सर्वाधिक ७५ रन जोडे । बलिङमा नेपालका लागि सन्दीपले १० ओभरमा ४१ रन खर्चिएर ४ महत्वपुर्ण विकेट लिए । करण केसी र नन्दन यादवले समान २ विकेट आफ्नो नाममा गरे ।

यस त्रिकोणात्मक शृङ्खलामा नेपाल र स्कटल्याण्ड सहित अमेरिका पनि रहेको छ । ८ टोली सहभागी यस प्रतियोगितामा यो नतिजापछि स्कटल्यान्ड र अमेरिकाको समान ३६ अंक भएको छ । नेपालको भने २५ खेलमा १८ अंक रहेको छ । यो हारपछि नेपालको लागि बचेको ११ खेलमा २२ अंक बटुल्ने मौका बाँकी रहेको छ ।