आगामी फागुन २१ मा हुन गइरहेको निर्वाचन केवल प्रतिनिधि छान्ने प्रक्रिया मात्र होइन, यो मुलुकको दिशा तय गर्ने ऐतिहासिक अवसर पनि हो । यस्तो संवेदनशील घडीमा नेपाली राजनीतिलाई नयाँ कि पुरानो भन्ने सतही बहसले होइन, सुशासन दिन सक्ने पात्र र प्रवृत्तिको गम्भीर खोजीले मार्गदर्शन गर्नुपर्छ । राजनीतिले आज खोजेको पात्र कुनै लेबलमा सीमित छैन– उसले इमानदार हुनुपर्छ, पारदर्शी हुनुपर्छ, जवाफदेही हुनुपर्छ र सबैभन्दा महत्वपूर्ण कुरा, देशको माटो र जनताप्रति अगाध माया र जिम्मेवारीबोध राख्न सक्नुपर्छ । चुनाव नजिकिँदै जाँदा ‘नयाँ’ शब्द आफैँमा समाधानजस्तो प्रस्तुत गर्ने प्रवृत्ति बलियो हुँदै गएको छ । तर नयाँ हुनु आफैँमा गुण होइन, न त पुरानो हुनु दोष । प्रश्न पात्रको उमेर, पार्टीको इतिहास वा भाषणको आकर्षण होइन– उसले शासन गर्न सक्छ कि सक्दैन, नीति बनाउन सक्छ कि सक्दैन र संकटमा रहेको देशलाई सुरक्षित दिशामा डो¥याउन सक्छ कि सक्दैन भन्ने हो । त्यसैले मतदाताले नयाँ–पुरानो भन्ने मानसिकतालाई पूर्णरूपमा त्यागेर नैतिकवान्, सुशासनप्रति प्रतिबद्ध र आफ्नै गाउँ–ठाउँ बुझेको, त्यहीँ जन्मिएको र हुर्किएको पात्र रोज्नु आजको आवश्यकता हो ।
बाहिरबाट आएका, अचानक उदाएका र स्थानीय यथार्थसँग गहिरो सम्बन्ध नराख्ने केही पात्रहरूले आकर्षक नारा, भावनात्मक भाषण र विभिन्न किसिमका भ्रम र तिकडम प्रयोग गरेर जनतालाई प्रभावित पार्न सक्छन् । तर शासन भनेको नाराले होइन, ज्ञान, अनुभव, धैर्य र संस्थागत जिम्मेवारीले चल्ने प्रक्रिया हो । त्यसैले भ्रमको खेतीबाट समयमै मुक्त हुनु, विवेकको प्रयोग गर्नु र हतारमा निर्णय नगर्नु आजका मतदाताको सबैभन्दा ठूलो जिम्मेवारी हो । राजनीति भनेको मुलुक सञ्चालन गर्ने प्रमुख नीति हो । त्यस्तो नीति बनाउने, परिमार्जन गर्ने र कार्यान्वयन गर्ने जिम्मेवारी राजनीतिक व्यक्ति र संगठित राजनीतिक दलहरूकै हुन्छ । एउटा राजनीतिक पक्ष अक्षम भयो भन्दैमा पूरै राजनीति नै फोहोर भयो भन्ने निष्कर्ष निकाल्नु आत्मघाती सोच हो । एउटा पक्ष असफल भएपछि स्वाभाविक रूपमा अर्को राजनीतिक विकल्प रोजिन्छ तर त्यसको अर्थ अराजनीतिक भीड, असंगठित समूह वा संस्थागत उत्तरदायित्व नबोक्ने प्रवृत्तिलाई सत्ता सुम्पनु किमार्थ पनि ऐतिहासिक दायित्व होइन ।
आज मुलुक गम्भीर अवस्थाबाट गुज्रिरहेको छ । आन्तरिक अस्थिरता, आर्थिक दबाब र जटिल भूराजनीतिक परिवेशले नेपाललाई चारैतिरबाट च्यापेजस्तो बनाएको छ । यस्तो बेला विवेक गुमाउनु, भीडको पछि लाग्नु र क्षणिक आवेगमा निर्णय गर्नु देशका लागि घातक हुन सक्छ । इतिहास साक्षी छ– भावनामा बगेर लिइएका निर्णयहरूले लोकतन्त्रलाई बलियो होइन, कमजोर बनाएका छन् । विगतमा केही नेताहरूले गल्ती–कमजोरी गरेका छन्, भ्रष्टाचारमा संलग्न भएका छन्, यो यथार्थ हो । उनीहरूले समयक्रमसँगै सजाय भोग्नेछन्, भोग्नै पर्छ । तर केही व्यक्तिको गलत कर्मका आधारमा सम्पूर्ण पुराना राजनीतिक दलहरूलाई ‘खत्तम’, ‘भ्रष्ट’ र ‘अनावश्यक’ ठहर गर्ने भाष्य स्थापित गर्नु न त न्यायसंगत हो, न त लोकतान्त्रिक । राजनीतिक दलहरूलाई एकैचोटि कुरुप बनाउने प्रयास लोकतन्त्रकै लागि खतराको संकेत हो ।
लोकतन्त्रमा दलहरूलाई निषेध गर्ने होइन, खबरदारी गर्ने, सुधारका लागि दबाब दिने र चुनावमार्फत मूल्यांकन गर्ने हो । राम्रो गरे जिताउने, नराम्रो गरे हराउने, यही लोकतन्त्रको सुन्दरता हो । तर पूराका पूरा दललाई खारेज गर्ने, राजनीतिको विकल्प राजनीतिबाहिर खोज्ने सोच अन्ततः सत्ताको केन्द्रीकरण, व्यक्तिवाद र अराजकताको ढोका खोल्ने जोखिम बोकेको हुन्छ । यस निर्वाचनमा मतदाताले एउटा कुरा गहिरोसँग आत्मसात् गर्नुपर्छ– देश प्रयोगशाला होइन । आवेग, आक्रोश र भ्रमका आधारमा होइन, अनुभव, योग्यता, नैतिकता र सुशासनको स्पष्ट खाकाका आधारमा निर्णय गर्नुपर्ने बेला आएको छ । लोकतन्त्र कमजोर पार्ने होइन, बलियो बनाउने पात्र र दलको छनोट नै आजको सही देशभक्ति हो । २१ फागुनको मतपत्रमा केवल उम्मेदवारको नाम होइन, नेपालको भविष्य अंकित हुनेछ । त्यसैले सोचेर, बुझेर र विवेकपूर्वक मतदान गरौँ– नयाँ–पुरानोको भ्रममा होइन, सुशासनको स्पष्ट छनोटमा ।











प्रतिक्रिया