कृषि उत्पादनको बजारीकरण र पर्यटन प्रवर्द्धनमा जोड दिँदै मर्स्याङ्दी महोत्सव


लमजुङ। 

मर्स्याङ्दी गाउँपालिकाले कृषि, पर्यटन, स्थानीय उत्पादन तथा संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित तेस्रो मर्स्याङ्दी महोत्सव तथा कृषि मेला–२०८३ आयोजना गर्ने भएको छ । आगामी पुस ८ देखि १२ गतेसम्म पाँच दिन मर्स्याङ्दी गाउँपालिका–७, ङादीस्थित ङादी खेलमैदानमा महोत्सव सञ्चालन हुने भएको हो ।

आइतबार ऐतिहासिक तथा पर्यटकीय स्थल हर्सिङ डाँडामा आयोजित पत्रकार सम्मेलनमा गाउँपालिकाले २० हजार दर्शक भित्र्याउने र करिब चार करोड रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य रहेको गाँउपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।

महोत्सव सञ्चालनका लागि करिब ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको गाउँपालिकाले जनाएको छ । महोत्सवका लागि गाउँपालिकाको आर्थिक वर्ष २०८३÷०८४ को स्वीकृत बजेटबाट २० लाख रुपैयाँ विनियोजन गरिएको छ । बाँकी रकम जलविद्युत् आयोजना, टिकट बिक्री, विभिन्न संघसंस्थाको प्रायोजन तथा स्टल भाडालगायतका स्रोतबाट व्यवस्थापन गरिने अध्यक्ष गुरुङको भनाई छ । 

महोत्सवमा कृषि उपज, फलफूल, तरकारी, पशुपन्छी तथा स्थानीय उत्पादनको प्रदर्शनी र बिक्री, घरेलु तथा हस्तकलाका सामग्रीको प्रदर्शन, स्थानीय परिकारको खाना महोत्सव, सांस्कृतिक कार्यक्रम तथा राष्ट्रिय र स्थानीय कलाकारको प्रस्तुति रहनेछ । त्यस्तै, लमजुङ जिल्लास्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता पनि मुख्य आकर्षणका रुपमा रहनेछ ।

गाउँपालिकाले महोत्सवलाई मनोरञ्जनमा मात्र सीमित नराखी किसानका उत्पादनलाई बजारसँग जोड्ने, स्थानीय उद्यमशीलता प्रवर्द्धन गर्ने तथा पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्य राखेको छ । स्थानीय कृषक, महिला समूह, युवा उद्यमी, सहकारी तथा घरेलु उद्योगलाई आफ्ना उत्पादन प्रदर्शन र बिक्री गर्ने अवसर प्रदान गरिने जनाइएको छ ।

मर्स्याङ्दी गाउँपालिकामा हर्सिङ डाँडा, सिउरुङ, घनपोखरा, भुस्मे तथा भलामचौर होमस्टे, खानीगाउँ, डा. हर्क गुरुङ समाधिस्थल, राष्ट्रकवि माधवप्रसाद घिमिरे पार्क, वीर भक्ति थापाको जन्मस्थल पार्क, जगत तातोपानी कुण्ड, बाह्रपोखरी र तलङ्यो पोखरीलगायतका पर्यटकीय तथा ऐतिहासिक गन्तव्य रहेका छन् । महोत्सवमार्फत यी गन्तव्यको राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने गाउँपालिकाको लक्ष्य छ ।

महोत्सवलाई व्यवस्थित रुपमा सञ्चालन गर्न गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको संयोजकत्वमा १ सय २५ सदस्यीय मूल आयोजक समिति र ११ वटा उपसमिति गठन गरिएको छ । कृषि, संस्कृति, खेलकुद, प्रचारप्रसार, आर्थिक व्यवस्थापन, हस्तकला, स्टल व्यवस्थापन, अतिथि सत्कार तथा स्वयंसेवक परिचालन लगायतका जिम्मेवारी छुट्टाछुट्टै उपसमितिलाई दिइएको छ ।

गाउँपालिकाले महोत्सवलाई कृषि, पर्यटन, ऊर्जा, कला तथा संस्कृतिको संरक्षण र स्थानीय आर्थिक गतिविधि विस्तार गर्ने साझा अभियानका रुपमा अघि बढाएको जनाएको छ । महोत्सवलाई सुरक्षित, व्यवस्थित, पारदर्शी र उपलब्धिमूलक बनाउने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ ।

‘मर्स्याङ्दीको गौरव, समृद्धिको आधार’ भन्ने नारासहित आयोजना हुन लागेको महोत्सवमा लमजुङसहित छिमेकी जिल्ला तथा देशभरका नागरिकलाई सहभागी हुन गाउँपालिकाले आग्रह गरेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।