स्याङ्जा।
बिहान खेतबारीमा तरकारी खेती, पशुपालन र कृषि कर्ममा व्यस्त हुने प्रवीण काफ्ले दिउँसो विद्यालयमा विद्यार्थीलाई गणित विषय पढाइरहेको हुनुहुन्छ । शिक्षण पेसासँगै कृषि कर्मलाई पनि उत्तिकै महत्त्व दिँदै आउनुभएका भीरकोटका काफ्ले शिक्षक र किसान दुवै भूमिकामा सफल उदाहरण बन्नुभएको छ । भीरकोट नगरपालिका–४ स्थित दभुङठाँटी माध्यमिक विद्यालयमा गणित विषय अध्यापन गराउँदै आउनुभएका काफ्लेले शिक्षण पेसासँगै व्यावसायिक कृषि तथा पशुपालनलाई अघि बढाउनुभएको हो । बिहानको समय खेतबारीमा तरकारी खेती र कृषि कर्ममा बिताउने उहाँ दिउँसो भने विद्यालयको कक्षाकोठामा विद्यार्थीको भविष्य निर्माणमा जुट्नुहुन्छ ।
काफ्लेको मेहनत खेतबारीमा मात्रै सीमित छैन, उहाँको शिक्षण यात्राले पनि उत्कृष्ट नतिजा दिएको छ । विशेषगरी माध्यमिक शिक्षा परीक्षा (एसईई) मा गणित विषयतर्फ विद्यालयको नतिजा लगातार उत्कृष्ट रहँदै आएको छ । २०८० सालको एसईई परीक्षामा गणित विषयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल हुनुभएका काफ्लेले २०८१ सालमा पनि ९० प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउनुभएको थियो । त्यस्तै, २०८२ सालको एसईई परीक्षामा पुनः गणित विषयमा शतप्रतिशत नतिजा हासिल भएको छ । २०८० सालको उत्कृष्ट नतिजापछि विद्यालयको ७०औँ वार्षिकोत्सव तथा नगरपालिकाको बालमैत्री दिवसका अवसरमा काफ्लेलाई नगदसहित सम्मान गरिएको थियो । २०८१ सालको एसईईमा पनि उत्कृष्ट नतिजा ल्याएपछि २०८२ सालको बालमैत्री दिवसमा उहाँलाई पुनः नगद पुरस्कार र ट्रफीसहित सम्मान गरिएको थियो ।
वि.सं. २०१९ मा स्थापना भएको दभुङठाँटी माध्यमिक विद्यालयमा लामो समयदेखि अध्यापन गराउँदै आउनुभएका काफ्लेले सामुदायिक विद्यालयमा पनि लगनशीलता, मेहनत र निरन्तर प्रयासबाट उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्न सकिन्छ भन्ने प्रमाणित गर्नुभएको छ । शिक्षणसँगै पशुपालन र दूध उत्पादनलाई पनि उहाँले आम्दानीको महत्वपूर्ण आधार बनाउनुभएको छ । उहाँले उत्पादन गरेको दूध वालिङस्थित नवदुर्गा मिष्ठान्न भण्डारमा दैनिक १५ देखि १६ लिटरसम्म बिक्री हुँदै आएको छ । कृषि र पशुपालनलाई व्यावसायिक रुपमा अघि बढाउँदै उहाँले स्थानीय बजारसँग उत्पादनलाई जोड्न सफल हुनुभएको छ ।
शिक्षक भएर पनि किसान बन्न लाज मान्न नहुने र श्रमलाई सम्मान गर्नुपर्ने उहाँको सोच छ । शिक्षण पेसाबाट विद्यार्थीको भविष्य निर्माण गर्ने र कृषि कर्मबाट जीवन निर्वाहसँगै आर्थिक आत्मनिर्भरता हासिल गर्ने उहाँको प्रयास अन्य शिक्षक तथा युवाका लागि पनि प्रेरणादायी बनेको छ । काफ्ले भन्नुहुन्छ, “म शिक्षक पनि हुँ, किसान पनि हुँ । खेतीबाट जीवन चल्छ, शिक्षणबाट भविष्य बन्छ ।” पछिल्लो समय युवाहरु रोजगारीको खोजीमा विदेशिने क्रम बढिरहेका बेला आफ्नै गाउँठाउँमा कृषि, पशुपालन र शिक्षणलाई सँगसँगै अघि बढाएर आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश काफ्लेको यात्राले दिएको छ । पेशालाई केवल आम्दानीको माध्यमका रुपमा मात्र नभई समाज र नयाँ पुस्ताप्रतिको जिम्मेवारीका रुपमा बुझ्ने उहाँको मेहनत साँच्चिकै अनुकरणीय छ ।








तपाईंको विचार लेख्नुहोस्