लमजुङ।
१२औँ उद्योग दिवसको अवसरमा लमजुङका तीन जना उत्कृष्ट उद्यमी सम्मानित भएका छन् । जिल्लामा उद्यमशीलता प्रवर्द्धन तथा स्थानीय उत्पादनको विकासमा योगदान पुर्याएको भन्दै एकीकृत सेवा कार्यालयले उनीहरुलाई सम्मान गरेको हो ।
बुधबार उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा दोर्दी गाउँपालिका–४ स्थित प्राथन ढाका उद्योगका सञ्चालक केशकुमारी गुरुङ, क्व्होलासोथार गाउँपालिका–३ स्थित आदि मौरीपालन तथा अलैँची नगदी फर्मका सञ्चालक दिलेश्वर गुरुङ र मध्यनेपाल नगरपालिका–४ स्थित मध्यविन्दु दिदीबहिनी सिलाइ तथा प्रशिक्षण केन्द्रका सञ्चालक मानकुमारी अचाजुलाई सम्मान गरिएको हो ।
सम्मानित प्रत्येक उद्यमीलाई नगद तीन हजार रुपैयाँ, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल घरेलु तथा साना उद्योग महासंघ लमजुङका अध्यक्ष श्रीकृष्ण लामिछानेले स्थानीय स्रोत, साधन र सीपको सदुपयोग गर्दै उद्यम सञ्चालन गर्ने व्यवसायीले जिल्लाको आर्थिक विकास र रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले उद्यमीलाई प्रोत्साहन र सम्मान गर्दा नयाँ पुस्तामा पनि उद्यमशीलताप्रति आकर्षण बढ्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा एकीकृत सेवा कार्यालयका प्राविधिक सहायक भानुभक्त थापा मगर तथा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रामकुमार श्रेष्ठले उद्यमीको मेहनत, लगनशीलता र निरन्तरतालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।
उद्योग वाणिज्य संघका अध्यक्ष भरतकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका महासचिव विपिन श्रेष्ठले सञ्चालन गर्नुभएको थियो । स्थानीय उत्पादन, घरेलु उद्योग तथा स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित सम्मान कार्यक्रमले जिल्लाका उद्यमीलाई थप हौसला मिल्ने अपेक्षा गरिएको छ ।








तपाईंको विचार लेख्नुहोस्