काठमाडौँमा ठूलो आवाज निकाल्ने ५६ वटा मोटरसाइकल र स्कुटर नियन्त्रणमा


काठमाडौँ ।

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ५६ वटा दुई पाङ्ग्रे सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार नियन्त्रणमा लिइएकामध्ये ५२ वटा मोटरसाइकल र चार वटा स्कुटर रहेका छन्।

चाडपर्वका बेला सर्वसाधारणलाई सुरक्षित र शान्त वातावरणमा आवागमनको व्यवस्था मिलाउन प्रहरीले सवारी जाँचलाई तीव्र बनाएको हो।

नियन्त्रणमा लिइएका सवारीसाधनमाथि आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

यसअघि मंगलबार ५२ र सोमबार २५ वटा त्यस्ता मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको थियो।