भारतको बनगाउँ बजारमा भीषण आगलागी : ६० पसल जलेर खरानी, ७० करोडसम्मको क्षतिको अनुमान


धनगढी ।

कैलालीको धनगढीसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशस्थित बनगाउँ बजारमा आइतबार राति भीषण आगलागी हुँदा करिब ६० वटा पसल जलेर पूर्ण रूपमा नष्ट भएका छन्। आगलागीबाट ५० देखि ७० करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

नेपाली ग्राहकलाई लक्षित गरी सञ्चालन हुँदै आएको भारतको लखिमपुर जिल्ला, कजरिया पञ्चायतअन्तर्गत पर्ने बनगाउँ बजारमा आइतबार साँझ करिब ७ बजे आगलागी सुरु भएको थियो।

स्थानीय व्यवसायी दीपक अग्रवालका अनुसार बजारस्थित एक भाँडा पसलमा विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। सुरुमा एउटा पसलमा लागेको आगो समयमै नियन्त्रणमा लिन नसक्दा आसपासका पसलमा फैलिएको थियो।

एकआपसमा टाँसिएर पसलहरू निर्माण गरिएका कारण आगो तीव्र गतिमा फैलिएको र नियन्त्रणमा लिन निकै कठिन भएको स्थानीय व्यवसायीले बताएका छन्।

आगलागी नियन्त्रणका लागि धनगढी उपमहानगरपालिकाबाट दुईवटा दमकल घटनास्थलमा पुगेका थिए। नेपाली तथा भारतीय सुरक्षाकर्मी र स्थानीयवासीको संयुक्त प्रयासपछि राति करिब ११ बजे आगो नियन्त्रणमा आएको व्यवसायी अग्रवालले जानकारी दिए।

बनगाउँ बजारबाट भारतको पलिया बजार करिब ५० किलोमिटर टाढा रहेकाले त्यहाँबाट दमकल आइपुग्न ढिलाइ हुने भएपछि स्थानीय व्यवसायीले धनगढी उपमहानगरपालिकासँग दमकल सहयोग मागेका थिए।

स्थानीय व्यवसायी अङ्कित गुप्ताका अनुसार आगलागीबाट ५० देखि ७० करोड रुपैयाँसम्मको क्षति भएको अनुमान छ। आगलागीमा पसलभित्र रहेका सामान, नगद तथा अन्य व्यापारिक सामग्री जलेर नष्ट भएका छन्। यद्यपि क्षतिको यकिन विवरण संकलन हुन बाँकी छ।

नेपाली उपभोक्ताको प्रमुख किनमेल गन्तव्यका रूपमा रहेको बनगाउँ बजारमा दैनिक बिहानैदेखि नेपाली ग्राहकको ठूलो भीड लाग्ने गर्छ। सीमावर्ती नेपाली उपभोक्तालाई लक्षित गरी सञ्चालन भएका दर्जनौँ पसलमध्ये ठूलो संख्यामा पसल जलेर नष्ट भएपछि स्थानीय व्यवसायी गम्भीर आर्थिक संकटमा परेका छन्।

आगलागीको घटनापछि क्षतिको विस्तृत विवरण संकलन तथा आगलागीको वास्तविक कारणबारे थप अनुसन्धान आवश्यक देखिएको छ।