काठमाडौँ।
ओखलढुंगाको लिखु गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा ३१ लाख ६७ हजार २०० रुपैयाँ अनियमितता गरेको आरोपमा पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन कर्मचारी तथा जनप्रतिनिधिसहित पाँच जनालाई प्रतिवादी बनाएर विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता भएको उजुरी परेपछि अनुसन्धान सुरु गरिएको थियो। अनुसन्धानका क्रममा उक्त अवधिमा विभिन्न प्रक्रियाबाट कुल ३१ लाख ६७ हजार २०० रुपैयाँ हिनामिना भएको खुलेको आयोगले जनाएको छ।
मुद्दा दायर गरिएकामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी र अभयकुमार गुप्ता, निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनानाथ चौधरी, एमआईएस अपरेटर खिला विक तथा तत्कालीन वडा नम्बर ९ का वडाध्यक्ष शुकवीर तामाङ रहेका छन्।
आयोगको अनुसन्धानअनुसार पाँचै जनाको आपसी सहमति र मिलेमतोमा वडाध्यक्ष तामाङको दायाँ हातको बुढीऔँलाको छाप प्रयोग गरी सामाजिक सुरक्षा भत्ता वितरण गरेको देखाउने भरपाई तयार पारिएको थियो।
आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ का पहिलो, दोस्रो र तेस्रो चौमासिकमा गरी ३६० वटा औँठाछाप प्रयोग गरेर २९ लाख १५ हजार २०० रुपैयाँ भुक्तानी लिएको तथा लिन लगाएको आयोगको दाबी छ।
त्यस्तै, भत्ता वितरणसम्बन्धी अभिलेखमा लाभग्राहीका औँठाछाप नमिलेको, एउटै व्यक्तिको नाम दोहोर्याइएको, मृत्यु भइसकेका व्यक्तिको लगत कट्टा नगरी भत्ता वितरण गरिएको तथा बसाइँसराइ गरी अन्यत्र गइसकेका व्यक्तिको विवरण अद्यावधिक नगरी रकम भुक्तानी गरिएको अनुसन्धानबाट खुलेको छ।
गलत विवरणसहितको अभिलेख तयार गरी पेश्की फर्छ्योट गराउँदा थप दुई लाख ५२ हजार रुपैयाँ अनियमितता भएको आयोगले जनाएको छ।
यसरी दोहोरो नाम, मृत्यु भइसकेका तथा बसाइँसराइ गरेका व्यक्तिका नाममा भत्ता वितरण गरेको देखाएर २९ लाख १५ हजार २०० रुपैयाँ र अन्य गलत विवरणका आधारमा दुई लाख ५२ हजार रुपैयाँ गरी कुल ३१ लाख ६७ हजार २०० रुपैयाँ हिनामिना भएको आयोगको ठहर छ।
पद तथा ओहदाको दुरुपयोग गरी आफूलाई गैरकानुनी लाभ पुर्याउने र गाउँपालिकालाई आर्थिक नोक्सानी पुर्याउने बदनियत राखेको आरोपमा पाँचै जनाविरुद्ध प्रचलित कानुनबमोजिम सजायको माग गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।














प्रतिक्रिया