बेंगलुरुमा श्रीमतीसहित परिवारका ७ जनाको हत्या गरेको आरोपमा ट्याक्सी चालक पक्राउ


काठमाडौं।

भारतको बेंगलुरुमा आफ्नै श्रीमतीसहित उनको परिवारका सात जनाको हत्या गरेको आरोपमा प्रहरीले ५३ वर्षीय ट्याक्सी चालकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा एस. इन्दुशेखर रहेका छन्। उनले करिब १५ देखि २० दिनको अवधिमा योजनाबद्ध रूपमा आफ्नी श्रीमती र उनका परिवारका सदस्यहरूको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीको आरोपअनुसार इन्दुशेखरले सबैभन्दा पहिले आफ्नी श्रीमती सुनिताको भान्सामा प्रयोग हुने पिँध्ने ढुङ्गाले प्रहार गरी हत्या गरेका थिए।

त्यसपछि उनले आफ्नी सासू रूपावतीलाई खानाका लागि घरमा बोलाएका थिए। खानामा बेहोस बनाउने औषधि मिसाएर उनलाई पनि पिँध्ने ढुङ्गाले प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ।

त्यसपछि उनले श्रीमतीका दुई भाइ शिवकुमार र शंकरलाई खानाका लागि निम्तो दिएका थिए। उनीहरूका श्रीमती नलिनी र दिव्यालाई समेत घरमा बोलाएर खानामा बेहोस बनाउने औषधि मिसाई हत्या गरेको आरोप छ।

यसैगरी, शिवकुमारका सात वर्षीय छोराको पनि हत्या गरिएको प्रहरीले जनाएको छ। ती बालकलाई खानाका लागि निम्तो नदिइए पनि उनी आफ्ना बुबासँगै आएका थिए।

बेंगलुरुका प्रहरी आयुक्त सीमान्त कुमार सिंहका अनुसार अभियुक्तले शव लुकाउने र व्यवस्थापन गर्ने क्रममा आफ्नी नाबालिग छोरीको समेत सहयोग लिएको अनुसन्धानबाट खुलेको छ।

उनले पत्रकारहरूसँग कुरा गर्दै अभियुक्तलाई एउटा शव फेला परेको स्थानमा लगिएको र उनको बयानअनुसार अझै अन्य शवहरू फेला पार्न बाँकी रहेको जानकारी दिएका छन्।

प्रहरीका अनुसार घटना लुकाउन इन्दुशेखरले श्रीमती सुनिताकै मोबाइल फोन प्रयोग गरी उनका आमाबुवालाई सन्देश पठाएका थिए। उक्त सन्देशमा सुनिता दक्षिण कन्नड जिल्लास्थित कुक्के सुब्रह्मण्य मन्दिर जान लागेको उल्लेख गरिएको थियो।

नलिनीकी आमा थुङ्गम्माले छोरी हराएको भन्दै प्रहरीमा उजुरी दिएपछि घटनाबारे अनुसन्धान सुरु भएको थियो। सोही क्रममा हत्याको रहस्य खुलेको प्रहरीले जनाएको छ।

प्रहरी आयुक्त सिंहका अनुसार प्रारम्भिक अनुसन्धानमा श्रीमती र उनको परिवारसँगको व्यक्तिगत दुश्मनी नै हत्याको कारण हुन सक्ने देखिएको छ। यद्यपि घटनाको वास्तविक कारण पत्ता लगाउन विभिन्न पक्षबाट अनुसन्धान भइरहेको उनले बताएका छन्।

प्रहरीका अनुसार अभियुक्त पेसाले ट्याक्सी चालक हुन्। उनीविरुद्ध करिब छ–सात वर्षअघि माडीवाला प्रहरी चौकीमा सिक्री लुटपाटसम्बन्धी मुद्दासमेत दर्ता भएको थियो।

यसैबीच, अभियुक्तको घरमा मासिक पत्रिका तथा अन्य प्रकाशनसँग सम्बन्धित पोस्टरसमेत फेला परेको प्रहरी आयुक्त सिंहले बताएका छन्। उक्त विषयमा पनि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

घटनामा संलग्नता, हत्याको उद्देश्य र शव व्यवस्थापनसम्बन्धी अन्य विवरण पत्ता लगाउन प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ। -बीबीसी