राक्सेमा पहिरो खस्दा कालीगण्डकी करिडोर ठप्प, यात्रु अलपत्र


काठमाडौ ।

गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सुक्खा पहिरो खस्दा कालीगण्डकी करिडोर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। चट्टानसहितको पहिरो खसेपछि गएरातिदेखि सडकमा सवारी आवागमन ठप्प भएको हो।

पहिरोका कारण तिहारमा घर तथा गन्तव्यतर्फ यात्रा गरिरहेका यात्रुहरू बीच बाटोमै रोकिएका छन्। गुल्मीबाट पाल्पा, बुटवल, बागलुङ, पर्वत, म्याग्दी र पोखरातर्फ जाने सवारीसाधन प्रभावित भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको छ।

स्थानीय तह र प्रहरीको समन्वयमा पहिरो हटाएर सडक सञ्चालन गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विरेन्द्रवीर विश्वकर्माले जानकारी दिएका छन्।