काठमाडौं ।
सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको निजी तस्बिर तथा भिडियो सार्वजनिक गर्दै चरित्र हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार प्रेम सम्बन्धमा रहँदा खिचिएका निजी तस्बिर तथा भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरी महिलाको चरित्र हत्या गरेको आरोपमा इलाम र सिन्धुपाल्चोकका दुई जना पक्राउ परेका हुन्।
प्रहरीका अनुसार इलामको माई नगरपालिका–१ स्थायी घर भएका २९ वर्षीय विकल्प राईले प्रेम सम्बन्धमा रहँदा खिचिएका निजी तस्बिर तथा भिडियो टेलिग्राममार्फत सार्वजनिक गरेका थिए। पीडित महिलाको उजुरीका आधारमा साइबर ब्यूरोले गरेको प्राविधिक अनुसन्धान तथा विश्लेषणबाट उनको संलग्नता खुलेपछि उनलाई कात्तिक १९ गते काठमाडौंको ठमेलस्थित पर्यटन मार्गबाट पक्राउ गरिएको हो।
राईविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ। उनलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
त्यसैगरी, सामाजिक सञ्जाल प्लेटफर्म एक्स (X) मार्फत अर्की महिलाको अश्लील भिडियो तथा तस्बिर आफूसँग रहेको भन्दै सार्वजनिक गरिदिने धम्की दिने र चरित्र हत्या गर्ने आरोपमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–५ स्थायी घर भएका ३० वर्षीय सुजन पाण्डे पक्राउ परेका छन्।
पीडित महिलाको उजुरीपछि साइबर ब्यूरोले गरेको प्राविधिक अनुसन्धान तथा विश्लेषणका क्रममा पाण्डेको संलग्नता खुलेको प्रहरीले जनाएको छ। उनलाई पनि कात्तिक १९ गते काठमाडौंको तारकेश्वरबाट पक्राउ गरिएको हो।
पाण्डेविरुद्ध पनि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान भइरहेको छ। उनलाई काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको साइबर ब्यूरोले जनाएको छ।
प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरी कसैको निजी तस्बिर तथा भिडियो सार्वजनिक गर्ने, सार्वजनिक गरिदिने धम्की दिने र चरित्र हत्या गर्ने कार्य विद्युतीय कसुरअन्तर्गत दण्डनीय हुने भएकाले यस्ता गतिविधिबाट सचेत रहन आग्रह गरेको छ।











प्रतिक्रिया