रुपन्देहीमा ७ लाख बढीका अवैध मोबाइल सामग्री बरामद


काठमाडौं ।

रुपन्देही प्रहरीले ७ लाख १२ हजार ६७० रुपैयाँ मूल्य बराबरका अवैध मोबाइल सामग्रीसहित भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको छ।

आइतबार बिहान लुम्बिनी सांस्कृतिक नगरपालिका–११, मसिनाबाट प्रहरीले अवैध रूपमा ल्याउँदै गरेका मोबाइल सामग्री बरामद गरेको हो।

प्रहरीका अनुसार १ हजार ३१ थान टेम्पर्ड ग्लास, २४० थान कर्भ्ड ग्लास, ४३ थान आईफोन ब्याट्री, १०० थान एयरबड्स, १४६ थान आईफोन ब्याक प्यानललगायत सामग्री बरामद गरिएको छ।

बरामद मोबाइल सामग्रीको मूल्य ६ लाख ६२ हजार ६७० रुपैयाँ र मोटरसाइकलको मूल्य ५० हजार रुपैयाँ अनुमान गरिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।