प्रधानमन्त्रीको अनुपस्थिति विदेश भ्रमण वा अस्वस्थता बाहेक स्वीकार्य हुँदैन : नानीकाजी शाक्य


काठमाडौ ।

नेपाल संवत् को राष्ट्रिय मान्यता र यसका प्रवर्तक शंखधर साख्वालाई राष्ट्रिय विभूतिको मान्यता जनताको लामो संघर्ष र आन्दोलनको उपलब्धि भएकाले यसको सम्मान गर्नु राज्य र सरकार प्रमुखको दायित्व भएको यल नेवाः समाजका अध्यक्ष नानीकाजी शाक्यले बताउनुभएको छ।

नेपाल संवत् नयाँ वर्षको अवसरमा ललितपुरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उहाँले नेपाल संवत् सम्बन्धी कार्यक्रममा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्नेमा जोड दिनुभयो। विदेश भ्रमण वा अस्वस्थता जस्ता विशेष परिस्थितिबाहेक प्रधानमन्त्री कार्यक्रममा अनुपस्थित हुनुको कुनै औचित्य नरहेको उहाँको भनाइ थियो।

‘नेपाल संवत् कुनै एउटा समुदायको चाड वा पर्व मात्र होइन, यो नेपालको मौलिक राष्ट्रिय पहिचान र गौरवसँग जोडिएको विषय हो। जनताको संघर्ष र आन्दोलनबाट नेपाल संवत्ले राष्ट्रिय मान्यता पाएको हो र यसका प्रवर्तक शंखधर साख्वा राष्ट्रिय विभूति घोषित हुनुभएको हो,’ उहाँले भन्नुभयो, ‘त्यसैले प्रधानमन्त्रीको उपस्थिति भनेको केवल एउटा कार्यक्रममा सहभागी हुनु होइन, जनताको संघर्ष, ऐतिहासिक उपलब्धि र राष्ट्रिय पहिचानप्रतिको सम्मान हो।’

उहाँले नेपाल संवतको कार्यक्रममा प्रधानमन्त्रीको अनुपस्थितिले यसप्रतिको राज्यको प्राथमिकता र सम्मानबारे प्रश्न उठ्ने बताउनुभयो। राष्ट्रिय मान्यता प्रदान गरिसकेपछि त्यसको व्यवहारिक सम्मान र कार्यान्वयनमा पनि सरकार गम्भीर हुनुपर्ने उहाँको धारणा थियो।