घोप्टेभिरको पहिरो हटाइयो, पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा


चितवन।

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो हटाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको छ।

आज बिहान पहिरो खसेर अवरुद्ध भएको सडक दिउँसो १२ बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइएको थियो।

दिउँसो २:१५ बजेदेखि भने पूर्ण रूपमा दुईतर्फी

सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार सडक खुलेसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।

नौबिसे–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्रका अनुसार करिब ३५ मिटर माथिबाट सुक्खा पहिरो खसिरहेकाले सडक सफा गर्न कठिन भएको थियो।

पहिरो खसेको स्थानको जमिन कमजोर रहेकाले जुनसुकै बेला पुनः पहिरो खस्न सक्ने जोखिम कायमै रहेको मिश्रले बताएका छन्। त्यसैले उक्त सडकखण्डमा यात्रा गर्दा सावधानी अपनाउन आवश्यक छ।