काठमाडौं ।
सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा अनधिकृत पहुँच पुर्याएर सरकारी ठेक्कासम्बन्धी आर्थिक प्रस्तावका कागजात हेरफेर गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
नेपाल प्रहरीको सम्बन्धित ब्युरोले प्राप्त उजुरीमाथि गरेको प्राविधिक अनुसन्धान तथा विश्लेषणका क्रममा ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्याई विभिन्न ठेक्काका विवरण परिवर्तन गर्ने कार्यमा संलग्न रहेको आशंकामा तीन जनालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै आर्थिक प्रस्तावसम्बन्धी कागजात (डकुमेन्ट) परिवर्तन गर्ने कार्य भएको अनुसन्धानबाट खुलेको छ।
यसरी सार्वजनिक खरिद प्रक्रियाको संवेदनशील चरणमै अनधिकृत पहुँच पुर्याएर कागजात हेरफेर गरिएको विषय सार्वजनिक भएपछि सरकारी ठेक्का प्रक्रियाको पारदर्शिता र विद्युतीय खरिद प्रणालीको सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ।
प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर आइतबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट तीनै जनालाई पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सरकारी ठेक्का प्रक्रियामा प्रतिस्पर्धा, पारदर्शिता र निष्पक्षता कायम गर्न सञ्चालन गरिएको ई–जीपी प्रणालीमै अनधिकृत पहुँच पुर्याएर आर्थिक प्रस्तावका कागजात परिवर्तन गरिएको घटनाले सार्वजनिक खरिद प्रणालीको साइबर सुरक्षा र ठेक्का प्रक्रियाको विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरेको छ।
यद्यपि, पक्राउ परेका व्यक्तिहरूको संलग्नता, कागजात हेरफेरको उद्देश्य, कुन–कुन ठेक्कामा यस्तो गतिविधि भयो र यसबाट कसलाई लाभ पुगेको थियो भन्ने विषय अनुसन्धानबाट थप खुल्न बाँकी छ।











प्रतिक्रिया