प्रदेश र स्थानीय तहमा थप कर्मचारी खटाइने


काठमाडौं ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश तथा स्थानीय तहमा कर्मचारी अभाव पूर्ति गर्न थप कर्मचारी खटाउने निर्णय गरेको छ।

मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका राजपत्र अनङ्कित प्रथम श्रेणी (नायब सुब्बा) कर्मचारीलाई अतिरिक्त समूहमा राखी आवश्यकताअनुसार प्रदेश तथा स्थानीय तहमा खटाउने भएको हो।

स्वीकृत दरबन्दीअनुसार कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या देखिएकाले मन्त्रालयले आवश्यक कर्मचारीको संख्या खुलाएर पठाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ।

मन्त्रीस्तरीय निर्णयअनुसार कर्मचारी समायोजन ऐन, २०७५ को दफा ९ बमोजिम सम्बन्धित प्रदेश तथा स्थानीय तहको सहमतिमा कर्मचारी खटाइनेछ। खटाइएका कर्मचारीको तलब तथा भत्ता सम्बन्धित प्रदेश वा स्थानीय तहले नै व्यहोर्ने व्यवस्था गरिएको छ।