भक्तपुर ।
तिहार नजिकिएसँगै भक्तपुरमा मखमली र सयपत्री फूलको मूल्य बढेको छ । व्यापारी तथा बिचौलियाले किसानको घरघरमै पुगेर बढी मूल्यमा फूल तथा माला खरिद गर्न थालेपछि बजारमा मूल्य वृद्धि भएको हो ।
भक्तपुरको गुण्डु, ताथलीलगायत क्षेत्रमा उत्पादित फूल तथा मालाको माग बढेसँगै किसानले पनि मूल्य बढाएका छन् । किसानबाट रु. ३० देखि ३५ मा खरिद गरिएको मखमली फूलको माला बजारमा रु. ८० देखि ९० सम्ममा बिक्री भइरहेको छ ।
त्यस्तै, सयपत्री फूलको मूल्यसमेत बढेको छ । किसानले चारदेखि पाँचवटा फूलको मुठा रु. २० देखि २५ मा बिक्री गर्दै आएका छन् भने बजारमा सयपत्री फूल प्रतिकिलो रु. ४०० देखि ५०० सम्म पुगेको छ । मध्यपुरथिमिको राधेराधेस्थित पूजा पसलमा सयपत्री फूल प्रतिकिलो रु. ४५० र मखमली माला रु. ७० मा बिक्री भइरहेको छ ।
गुण्डुका किसानका अनुसार व्यापारीले घरमै पुगेर फूल तथा माला खरिद गर्न थालेपछि किसानलाई राम्रो आम्दानी भएको छ । गुण्डुबाट मात्रै वार्षिक रु. पाँच करोडभन्दा बढीको फूल तथा माला उत्पादन र बिक्री हुने गरेको छ । कतिपय किसानले एउटै याममा फूलखेतीबाट रु. तीन लाखसम्म आम्दानी गरेका छन् ।
यस वर्ष लामो समयसम्म परेको झरी र वर्षाका कारण खुला ठाउँमा लगाइएको सयपत्री फूल नष्ट भएपछि बजारमा अभाव सिर्जना भएको पुष्प व्यवसायी रामेश्वर बासीले बताए । टनेलमा उत्पादन गरिएको फूल मात्रै बजारमा आउन थालेपछि मूल्य बढेको उनको भनाइ छ ।
व्यापारीले सयपत्री फूलको माला आकारअनुसार प्रतिगोटा रु. १५० देखि ८०० सम्ममा बिक्री गरिरहेका छन् । फूलको मूल्य अझै बढ्ने व्यवसायीको अनुमान छ । तिहारमा फूलमालाको मूल्य बढ्दा किसानले राम्रो आम्दानी गरे पनि उपभोक्ता भने महँगीको मारमा परेका छन् ।











प्रतिक्रिया