तिहार र छठमा विद्युत् आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी


काठमाडौँ ।

नेपाल विद्युत् प्राधिकरणले तिहार तथा छठ पर्वमा नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ । पर्वका समयमा विद्युत् अवरोध हुन नदिन उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई चुस्त राख्नुका साथै प्राविधिक कर्मचारीलाई २४ सै घण्टा तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पर्व अवधिभर विद्युत् आपूर्ति सहज बनाउन सम्बन्धित कार्यालय प्रमुखहरूलाई आवश्यक तयारी गर्न निर्देशन दिएका छन् । उनले विद्युत् आपूर्तिमा समस्या आए तत्काल मर्मतसम्भार गरी सेवा सञ्चालन गर्न तथा प्रसारण लाइन र वितरण प्रणालीको निरीक्षण र मर्मतसम्भारलाई तीव्रता दिन निर्देशन दिएका छन् ।

त्यस्तै, विद्युत्सम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न नो लाइट सेवामा प्राप्त हुने फोन नियमित उठाउने र गुनासो व्यवस्थापन प्रभावकारी बनाउनसमेत निर्देशन दिइएको छ ।

प्राधिकरणका अनुसार तिहारको लक्ष्मीपूजाका दिन विद्युत्को अधिकतम माग करिब १ हजार ७०० मेगावाट रहने अनुमान छ । उक्त समयमा आन्तरिक विद्युत् उत्पादन करिब २ हजार ५०० मेगावाट पुग्ने प्रक्षेपण गरिएकाले मागअनुसार विद्युत् आपूर्तिमा समस्या नहुने कार्यकारी निर्देशक श्रेष्ठले बताएका छन् ।