काठमाडौं।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३७ रन मात्र बनाउन सक्यो। कर्णालीका लागि डेभिड मिलरले उत्कृष्ट ब्याटिङ गर्दै ५५ बलमा ५ चौका र ७ छक्काको मद्दतले अविजित ९४ रन बनाए। तर, उनको उत्कृष्ट इनिङ्सले पनि टोलीलाई जित दिलाउन सकेन।
यसअघि टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको कर्णालीविरुद्ध ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो।
सुदूरपश्चिमका लागि ओपनर शैफ जेभले सर्वाधिक ३५ रन बनाए। त्यस्तै, विनोद भण्डारीले २२ बलमा २७ रन, ब्रान्डन म्याकमलेनले २४ रन र इशान पाण्डेले २३ रनको योगदान दिए।
कप्तान दीपेन्द्रसिंह ऐरीले १० तथा आरिफ शेखले ११ रन बनाए। थरिन्दु रत्नायकेले अविजित २२ रन बनाउँदा स्कट कुगेलेनले पनि अविजित १३ रन जोडे।
बलिङतर्फ कर्णालीका मार्क वाटले सर्वाधिक दुई विकेट लिए। नन्दन यादव, हुसेन तलात र सूर्य तामाङले समान एक–एक विकेट हात पारे।
यस जितसँगै सुदूरपश्चिमले एनपीएलमा आफ्नो प्रदर्शनलाई थप मजबुत बनाएको छ।











प्रतिक्रिया