गोरखाको रेमुनाङ खोलामा पहिरोले बनायो ताल


काठमाडौ ।

गोरखाको चुमनुब्री गाउँपालिका–१ साम्दोस्थित लार्के बजार पारिपट्टि क्षेत्रमा सुक्खा पहिरो खस्दा रेमुनाङ खोला थुनिएर ताल बनेको छ। पहिरोले खोला थुनिएर ठूलो ताल बने पनि हाल पानी बगिरहेको र तत्काल ठूलो जोखिम नदेखिएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिएका छन्।

रेमुनाङ बूढीगण्डकी नदीको नुब्रीतर्फको सहायक खोला हो। खोलामा पानी बगिरहे पनि पहिरोका कारण बनेको ठूलो ताल जुनसुकै बेला फुट्न सक्ने जोखिम रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

सामागाउँका धार्के हिराचनका अनुसार खोलामा पानीको बहाव जारी रहे पनि ताल अचानक फुट्न सक्ने भएकाले सावधानी अपनाउन आवश्यक छ।

यसअघि गत असोज २५ गते बूढीगण्डकीको चुमतर्फ पर्ने उङ्गिलुङ–स्यार खोलामा आएको बाढीले घरटहरा, पुल, सडक तथा पदमार्गमा क्षति पुर्‍याएको थियो। उक्त घटनालाई समेत ध्यानमा राख्दै स्थानीयलाई सचेत रहन आग्रह गरिएको छ।