ग्लोबल आइएमई बैंकको १२ तले कर्पोरेट भवन निर्माण सुरु, उत्तरढोकामा भूमिपूजा सम्पन्न


काठमाडौं।

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण गर्ने भएको छ। बैंकले शुक्रबार निर्माणस्थलमा भूमिपूजा गर्दै भवन निर्माण कार्यको औपचारिक सुरुआत गरेको हो।

बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले संयुक्त रूपमा विधिपूर्वक भूमिपूजा गरेका थिए।

करिब एक लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा निर्माण हुने उक्त भवन १२ तलाको हुनेछ। भवनमा सवारीसाधन पार्किङका लागि दुई तला भूमिगत बेसमेन्ट, एउटा भुइँतला र माथि नौ वटा तला रहने बैंकले जनाएको छ।

आधुनिक वास्तुकला, वातावरणमैत्री पूर्वाधार र नवीनतम प्रविधिको प्रयोग गरी निर्माण गर्न लागिएको भवनलाई काठमाडौं उपत्यकाकै नमुना व्यावसायिक संरचनाका रूपमा विकास गर्ने बैंकको लक्ष्य छ।

भूमिपूजा समारोहमा बोल्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ भवन वाणिज्य बैंकका कर्पोरेट कार्यालयमध्ये आधुनिक र ठूलो संरचनामध्ये एक हुने बताए। अत्याधुनिक सुविधासहित निर्माण हुने भवनले काठमाडौं उपत्यकाको पहिचान थप उचो बनाउने उनको भनाइ थियो।

नयाँ भवन निर्माणपछि बैंकका सेवाग्राहीले अझ सहज, प्रविधिमैत्री र प्रभावकारी सेवा प्राप्त गर्ने पनि अध्यक्ष ढकालले विश्वास व्यक्त गरे।

त्यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले सेवाग्राही तथा कर्मचारीको सुविधालाई केन्द्रमा राखेर भवनको डिजाइन र निर्माण योजना अघि बढाइएको बताए। पार्किङ व्यवस्थादेखि भवनको आन्तरिक संरचनासम्म आधुनिक इन्जिनियरिङलाई प्राथमिकता दिइएको उनको भनाइ थियो।

भवनलाई ऊर्जा दक्ष बनाउने उद्देश्यले सौर्य ऊर्जा प्रणाली जडान गरिने तथा आकाशे पानी संकलन र प्रशोधन गर्ने व्यवस्था मिलाइने बैंकले जनाएको छ। यस्ता पूर्वाधारले विद्युत् खपत घटाउनुका साथै प्राकृतिक स्रोतको उचित उपयोग र वातावरण संरक्षणमा सहयोग पुग्ने बैंकको विश्वास छ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलसहित उच्च व्यवस्थापन तहका अधिकारी तथा कर्मचारीहरूको उपस्थिति थियो।

ग्लोबल आइएमई बैंकले आधुनिक प्रविधिको प्रयोगमार्फत ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ। बैंकले सन् २०१४ मा ‘बैंक अफ द इयर’ र सन् २०१६ मा ‘बेस्ट इन्टरनेट बैंक’ को उपाधि प्राप्त गरेको थियो। यस्तै, सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको बैंकले जनाएको छ।

यसका अतिरिक्त बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स सन् २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेस्ट इम्प्लोयरलगायतका पुरस्कारसमेत प्राप्त गरेको छ।

मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंकका रूपमा रहेको ग्लोबल आइएमई बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ सेवा केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र विदेशमा रहेका तीन प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण सेवा प्रदान गर्दै आएको छ। यसबाट मुलुकको अर्थतन्त्रमा योगदान पुगिरहेको बैंकले जनाएको छ।