काठमाडौं।
राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ। सभामुख अर्यालले शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्।
राष्ट्रपतिको सचिवालयका अनुसार भेटका क्रममा समसामयिक राजनीतिक तथा संसदीय विषयमा छलफल भएको थियो।
सरकारले एकपछि अर्को अध्यादेश ल्याइरहेको र विपक्षी दलहरूले संसद्को बैठक तत्काल बोलाउन दबाब दिइरहेको वर्तमान अवस्थामा राष्ट्रपति र सभामुखबीच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
सभामुख अर्यालले भेटका क्रममा संघीय संसद्ले आयोजना गर्न लागेको अन्तरव्यवस्थापिका संघ (आईपीयू) अन्तर्गतको दिगो विकाससम्बन्धी स्थायी समितिको एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।
त्यस्तै, तान्जानियाको अरुसामा सम्पन्न आईपीयूको १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुईतिहाइभन्दा बढी मतले पारित भएको विषयमा पनि सभामुखले राष्ट्रपतिलाई अवगत गराएका थिए।
भेटमा संसद्को अधिवेशन आह्वान तथा संसद्लाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयले समेत स्थान पाएको थियो। सभामुख अर्यालले विभिन्न राजनीतिक दलका नेताहरूसँग भएको छलफलका क्रममा संसद् सञ्चालन गर्नुपर्ने सुझाव प्राप्त भएको जानकारी गराएका थिए।
यसैगरी, सातवटै प्रदेशका सभामुख, उपसभामुख तथा प्रदेशसभाका अन्य पदाधिकारीहरूसँग राष्ट्रपति र सभामुखबीच सामूहिक भेटघाट तथा छलफल गर्ने योजनाबारे पनि उनले जानकारी गराएका थिए।
भेटका क्रममा राष्ट्रपति पौडेलले संसद्मा हुने बहस र छलफलले लोकतान्त्रिक अभ्यासलाई थप बलियो बनाउने धारणा राखेका थिए। संसद्मा विचारविमर्शको वातावरण जति व्यापक हुन्छ, लोकतन्त्र त्यति नै सुदृढ हुने उल्लेख गर्दै उनले सरकारका कामकारबाहीबारे समेत चासो व्यक्त गरेका थिए।











प्रतिक्रिया