नवलपरासी।
पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१७, कुलेनीबाट कौडा खेलिरहेको अवस्थामा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ।
कौडा खेलमा हारजित भइरहेको गोप्य सूचना पाएपछि प्रहरीले बिहीबार अपराह्न उक्त स्थानमा छापा मारेको थियो। जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल पण्डितका अनुसार प्रहरीले उनीहरूको साथबाट १६ थान कौडा, सेतो धातुको भिस्टीङ उठाउने भाँडो तथा ३ लाख ३ हजार १६५ रुपैयाँ नगद बरामद गरेको छ।
पक्राउ परेका १४ जनालाई जिल्ला प्रशासन कार्यालयबाट १२ दिनको म्याद थप गरी जुवासम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
यसैबीच, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै जिल्लामा शान्ति सुरक्षा र अमनचयन कायम राख्न प्रहरीले २४ सै घण्टा गस्ती परिचालन गरेको जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वले जनाएको छ।
प्रशासनले चाडपर्वका समयमा जुवा–तास तथा पटका, भुइँचम्पा र आतसबाजीको प्रयोग नियन्त्रण गर्न विशेष सुरक्षा सतर्कता अपनाइएको पनि जनाएको छ।











प्रतिक्रिया