भरतलाल श्रेष्ठको एउटा निमन्त्रणाले जोडेको साइनो, चार दशकपछि फेरि ताजा हुँदै
काठमाडौँ ।
चार दशकभन्दा लामो समय बितिसकेको छ । काठमाडौँ फेरिएको छ, नेपाली चलचित्रको स्वरूप फेरिएको छ र चलचित्रकर्मीलाई सम्मान गर्ने परम्पराले पनि लामो यात्रा तय गरेको छ । तर, नेपाली चलचित्र इतिहासको एउटा महत्वपूर्ण क्षणकी साक्षी बनेकी भारतीय अभिनेत्री शवाना आजमी फेरि काठमाडौँ फर्किँदै हुनुहुन्छ । यसपटक उहाँको आगमनले एउटा चलचित्र महोत्सवलाई मात्र होइन, नेपाली चलचित्र क्षेत्रको इतिहासमा सुरक्षित एउटा पुरानो सम्झनालाई समेत ब्युँताएको छ ।

वि.सं. २०४३ वैशाख १७ गते काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा नेपाली चलचित्रकर्मीलाई सम्मान गर्न पहिलोपटक फिल्म अवार्ड समारोह आयोजना हुँदै थियो । नेपाली चलचित्रका कलाकार र प्राविधिकलाई उनीहरूको योगदानका लागि औपचारिक रूपमा सम्मान गर्ने त्यो ऐतिहासिक समारोहकी विशेष अतिथि हुनुहुन्थ्यो–शवाना आजमी ।

तत्कालीन विशाल बजार लायन्स क्लबका अध्यक्ष तथा कामना न्युज पब्लिकेसन्सका संस्थापक अध्यक्ष भरतलाल श्रेष्ठको निमन्त्रणामा उहाँ काठमाडौँ आउनुभएको थियो । विशाल बजार लायन्स क्लबको आयोजना र कामना मासिकको सहकार्यमा सम्पन्न उक्त समारोह नेपाली चलचित्र क्षेत्रमा अवार्ड संस्कृतिको सुरुआत गर्ने एउटा महत्वपूर्ण प्रयास थियो ।
त्यो एउटा अवार्ड समारोह मात्र थिएन, नेपाली चलचित्रकर्मीको योगदानलाई सार्वजनिक रूपमा चिनाउने र सम्मान गर्ने नयाँ परम्पराको थालनी पनि थियो । त्यसैले यतिका वर्षपछि आजमीको काठमाडौँ आगमनलाई एउटा पुरानो घटनाको सामान्य पुन:स्मरणका रूपमा मात्र हेर्न मिल्दैन ।
भरतलाल श्रेष्ठको निमन्त्रणामा पहिलोपटक काठमाडौँ आउनु लाग्नुभएकी आजमीको अहिलेको भ्रमणको सन्दर्भ फरक छ । काठमाडौँ महानगरपालिकाले आयोजना गर्न लागेको तीन दिने काठमाडौँ फिल्म फेस्टिभलमा सहभागी हुन उहाँ आउँदै हुनुहुन्छ । तर, समय र सन्दर्भ फेरिए पनि उहाँको आगमनले २०४३ सालको त्यो समारोहलाई फेरि सम्झनाको केन्द्रमा ल्याएको छ ।
त्यो ऐतिहासिक समारोहको कथा भरतलाल श्रेष्ठमा मात्र सीमित छैन । यससँग कामना मासिक र त्यसका संस्थापक प्रधानसम्पादक तथा प्रकाशक स्व. पुष्करलाल श्रेष्ठको नाम पनि जोडिएको छ । नेपाली चलचित्र पत्रकारितालाई संस्थागत स्वरूप दिने र चलचित्रकर्र्मीको योगदानलाई सम्मान गर्ने संस्कृतिको विकासमा कामना मासिकले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । पहिलो फिल्म अवार्डको आयोजनामा पुष्करलाल श्रेष्ठको पनि सक्रिय सहभागिता थियो ।
चलचित्र क्षेत्रलाई सम्मान गर्ने त्यही सोचले समयक्रममा एउटा निरन्तर अभियानको रूप लियो । आज कामना इमेज समूहका प्रमुख दिरेकलाल श्रेष्ठले कामना फिल्म अवार्डमार्फत उक्त विरासतलाई अगाडि बढाइरहनुभएको छ । यसरी भरतलाल श्रेष्ठदेखि पुष्करलाल श्रेष्ठ हुँदै तेस्रो पुस्तासम्म आइपुग्दा नेपाली चलचित्रकर्मीलाई सम्मान गर्ने अभियानले निरन्तरता पाएको छ ।
यस विरासतको प्रारम्भिक अध्यायसँग जोडिएको एउटा नाम हो–उनै भारतीय अभिनेत्री शवाना आजमी । पहिलो फिल्म अवार्डमा सहभागी हुनुभएकी भारतीय अभिनेत्री आजमी आज फेरि काठमाडौँको चलचित्र मञ्चमा देखिँदै हुनुहुन्छ । फरक यति हो, त्यतिबेला उहाँ नेपाली चलचित्रकर्र्मीलाई सम्मान गर्ने एउटा समारोहको अतिथि हुनुहुन्थ्यो, अहिले नेपाली र अन्तर्राष्ट्रिय चलचित्रकर्मीलाई एउटै मञ्चमा ल्याउने उद्देश्य राखिएको महोत्सवमा सहभागी हुँदै हुनुहुन्छ ।
काठमाडौँ फिल्म फेस्टिभलमा आजमीको सहभागिता पुरानो सम्झनामा मात्र सीमित रहने छैन। शनिवार नेपाल पर्यटन बोर्डमा हुने ‘चलचित्र महोत्सव र सार्थक जीवन’ विषयक अन्तरसंवादमा उहाँले आफ्ना चलचित्र अनुभव, सिर्जनशीलता र जीवनका विविध पक्षबारे विचार राख्ने कार्यक्रम छ ।
महोत्सवमा आजमीसँगै सांघाई फिल्म एकेडेमीका प्राध्यापक मार्काे मुलर, जापानी निर्देशक ताकायुकी नाकामुरा र भारतीय फिल्म प्रोग्रामर दीप्ति डिकुन्हालगायत अन्तर्राष्ट्रिय चलचित्रकर्मी पनि सहभागी हुनेछन् । नेपाली तथा विदेशी चलचित्र प्रदर्शन, अन्तरसंवाद, मास्टर क्लास र पुराना नेपाली चलचित्रको विशेष प्रदर्शन महोत्सवका अन्य आकर्षण रहनेछन् ।
संयोग रोचक छ । चार दशकअघि नेपाली चलचित्रकर्मीलाई पहिलोपटक औपचारिक रूपमा सम्मान गर्ने समारोहमा सहभागी हुनुभएकी आजमी अहिले नेपाली र अन्तर्राष्ट्रिय चलचित्रकर्र्मीको जमघट हुने महोत्सवमा सहभागी हुन काठमाडौँ आउँदै हुनुहुन्छ । दुवै कार्यक्रमको स्वरूप फरक छ । आयोजक फरक छन् । समय र उद्देश्य पनि उस्तै छैनन् । तर, यी दुई समयलाई जोड्ने एउटा साझा पात्र हुन् –शवाना आजमी ।
चार दशकअघि सुरु भएको सम्मानको परम्परा र अहिलेको चलचित्र महोत्सवबीच उहाँको पुनरागमनले एउटा पुरानो सम्बन्धलाई फेरि सम्झाएको छ ।
कहिलेकाहीँ कुनै सहरसँगको सम्बन्ध लामो समयको बसाइँले होइन, इतिहासमा छोडिएको एउटा सम्झनाले जीवित राख्छ । शवाना आजमीको काठमाडौँ पुनरागमन त्यस्तै एउटा सम्झना हो–नेपाली चलचित्रसँग जोडिएको पुरानो साइनो, जुन समयसँगै हराएन ।











प्रतिक्रिया