काठमाडौं ।
अमेरिकी डलर बजार मूल्यभन्दा सस्तोमा सटही गरिदिने प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी तथा लुटपाट गर्दै आएको गिरोहका एक मुख्य योजनाकार प्रहरीको गोली लागेर पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गरी पक्राउ परेका अभियुक्त र गिरोहले अपनाउँदै आएको ठगीको शैली सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ मा बस्दै आएका २८ वर्षीय तामाङ छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उनले गत असोज २२ गते विभिन्न व्यक्तिलाई फोन गरी आफूसँग ठूलो परिमाणमा अमेरिकी डलर रहेको र बजार मूल्यभन्दा सस्तोमा सटही गरिदिने भन्दै प्रलोभन देखाएका थिए। पीडितको विश्वास जित्न सुरुमा ५० अमेरिकी डलरको सक्कली नोटसमेत देखाउने गरेको अनुसन्धानबाट खुलेको छ।
त्यसपछि असोज २३ गते गोकर्णेश्वर नगरपालिका–१२ स्थित लसुनटार क्षेत्रमा दुई जना पीडितलाई बोलाएर उनीहरूबाट आठ–आठ लाख रुपैयाँ गरी कुल १६ लाख रुपैयाँ लुटेर उनी जंगलतर्फ फरार भएका थिए।
पक्राउ गर्ने क्रममा प्रहरीमाथि चक्कु प्रहार
घटनापछि फरार अभियुक्तको खोजीमा खटिएको विशेष प्रहरी टोलीले कात्तिक १९ गते साँझ करिब ६ः४५ बजे गोकर्णेश्वर नगरपालिका–३ गाम्चास्थित सडकखण्डमा तामाङलाई फेला पारेको थियो।
पक्राउ गर्ने क्रममा उनले प्रहरी कर्मचारीमाथि चक्कु प्रहार गर्दा एक प्रहरी घाइते भएका थिए। प्रहरीले स्थिति नियन्त्रणमा लिन एक राउण्ड हवाई फायर गरे पनि उनी नियन्त्रणमा नआएपछि घुँडामुनि लक्षित गरी एक राउण्ड गोली प्रहार गरेको जनाएको छ।
गोली लागेर घाइते भएका तामाङलाई तत्काल उपचारका लागि ट्रमा सेन्टर लगिएको र हाल उपचार भइरहेको प्रहरीले जनाएको छ।
आठ पटक पक्राउ परिसकेका व्यक्ति
प्रहरीका अनुसार तामाङ यसअघि पनि डलर देखाएर ठगी तथा लुटपाट गरेको आरोपमा आठ पटक पक्राउ परिसकेका व्यक्ति हुन्। उनीमाथि काठमाडौंको स्वयम्भू, बूढानीलकण्ठ र साँखु लगायतका क्षेत्रमा सुन देखाएर सर्वसाधारणलाई ठगी तथा रकम लुटपाट गरेको आरोपमा समेत अनुसन्धान भइरहेको छ।
प्रहरीले तामाङलाई मुख्य योजनाकारका रूपमा चित्रण गर्दै उनले संगठित समूह बनाएर उपत्यकाका विभिन्न स्थानमा यस्ता अपराध गर्दै आएको जनाएको छ। घटनामा संलग्न अन्य फरार व्यक्तिको खोजी भइरहेको छ।
यसरी बिछ्याउँथे ठगीको जालो
प्रहरी अनुसन्धानअनुसार गिरोहले गेस्ट हाउस, रेस्टुरेन्ट, सुनचाँदी पसल, हार्डवेयर, मेडिकल, डेरी तथा होलसेल पसलका सम्पर्क नम्बर संकलन गरी ठगीको योजना बनाउने गरेको थियो।
त्यसपछि पसल सञ्चालकलाई फोन गरेर पहिल्यै चिनजान भएजस्तो गरी मीठो बोलीमा कुराकानी गर्ने, व्यापारिक वा पारिवारिक समस्या देखाएर सहानुभूति बटुल्ने र अन्त्यमा सस्तोमा अमेरिकी डलर सटही गरिदिने प्रस्ताव राख्ने गरेको पाइएको छ।
पीडितलाई थप विश्वासमा पार्न गिरोहका एक सदस्यलाई बोल्न नसक्ने वा लाटो व्यक्तिको भूमिका निर्वाह गर्न लगाइन्थ्यो। सुरुमा थोरै सक्कली डलर दिएर विश्वास जितेपछि पीडितलाई प्रहरीको निगरानी कम हुने एकान्त स्थान वा जंगल क्षेत्रमा बोलाइन्थ्यो। त्यहाँ पुगेपछि नगद रकम लुटेर गिरोहका सदस्य फरार हुने गरेको प्रहरीले जनाएको छ।
डलरको पोकोमा सेतो कागज र २० रुपैयाँका नोट
गिरोहले डलर देखाएर ठगी गर्न अपनाएको तरिका पनि अनौठो रहेको प्रहरीले खुलाएको छ।
डलर भनेर रुमाल वा कपडामा पोको पारिएको वस्तुको अगाडि र पछाडि पाँच, दस तथा पचास अमेरिकी डलरका सक्कली नोट राख्ने र बीचमा भने डलरको आकारमा काटिएका सेता कागजका बन्डल वा नेपाली २० रुपैयाँका नोट राख्ने गरिएको थियो।
यसरी सक्कली डलरको झल्को दिएर पीडितलाई झुक्याउने र रकम लुट्ने गरिएको अनुसन्धानबाट खुलेको छ।
लुटपाटपछि गिरोहले मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गर्ने, हुलिया बदल्ने तथा मोबाइल र सिमकार्ड निरन्तर फेरिरहने गरेको पनि प्रहरीले जनाएको छ।
सीसीटीभी निगरानी कम भएका नाङ्लेभारे, लप्सीफेदी, सुन्दरीजल, तारेभिर, शिवपुरी र नागार्जुन क्षेत्रलाई गिरोहले अपराधका लागि मुख्य गन्तव्य बनाउने गरेको पाइएको छ।
मोटरसाइकलदेखि नक्कली सुनसम्म बरामद
प्रहरीले पक्राउ परेका तामाङको साथबाट अपराधमा प्रयोग भएको मोटरसाइकल, विभिन्न नक्कली नम्बर प्लेट, नेपाली २० रुपैयाँका चार बन्डल, अमेरिकी डलरको आकारमा काटिएका सेता कागजका बन्डल र तिनको अगाडि तथा पछाडि राखिएका पाँच डलरका नोट बरामद गरेको छ।
त्यस्तै, एक किलो तौलको नक्कली सुनको ढिक्का तथा विभिन्न कम्पनीका मोबाइल फोनसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेका तामाङसँग आबद्ध अन्य व्यक्तिहरू, विगतका घटनामा उनीहरूको संलग्नता तथा ठगी र लुटपाटबाट प्राप्त रकमबारे थप अनुसन्धान अघि बढाएको छ।











प्रतिक्रिया