संविधान र शान्ति सम्झौताको बाटोबाट मुलुक बाहिरिएको देव गुरुङको आरोप


काठमाडौं ।

नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वमन्त्री देव गुरुङले मुलुक संविधान र विस्तृत शान्ति सम्झौताको मर्मअनुसार अघि नबढेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेपाल अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा बोल्दै उनले संविधान खारेज नभए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै संविधान अहिले ‘कोमा’ को अवस्थामा रहेको टिप्पणी गरे ।

गुरुङले भदौ २३ र २४ गतेका घटनापछि विकसित राजनीतिक घटनाक्रमले शान्ति प्रक्रिया र संविधान कार्यान्वयन प्रभावित भएको दाबी गरे । उनले संक्रमणकालीन न्यायको विषय बहुमत वा दुई तिहाइको सरकारबाट मात्रै समाधान हुन नसक्ने भन्दै द्वन्द्वरत पक्षबीच सहमति र राष्ट्रिय समझदारी आवश्यक रहेको बताए ।

उनका अनुसार संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरू करिब १० महिनादेखि पूर्णता पाउन नसकेको अवस्थामा छन् । आयोग गठन र पदपूर्ति मात्रै समस्याको समाधान नभएकाले राजनीतिक दलहरूबीच पुनः सहमति र सहकार्य गर्दै संविधान तथा विस्तृत शान्ति सम्झौताको मूल मर्मअनुसार शान्ति प्रक्रिया अघि बढाउनुपर्ने गुरुङको भनाइ छ ।

उनले सरकारसहित शान्ति प्रक्रियासँग सम्बन्धित सबै पक्षलाई संविधानको मार्ग र शान्ति सम्झौताको मर्मअनुसार अघि बढ्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।