भक्तपुर ।
नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय स्वाभिमान, सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा आँच आउने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताएका छन् ।
शनिबार भक्तपुरमा पार्टी जिल्ला समितिद्वारा आयोजित राष्ट्रिय जागरण अभियान उद्घाटन गर्दै उनले राष्ट्रियता, देशभक्ति र राष्ट्रिय स्वाधीनताको रक्षा अभियानको मुख्य उद्देश्य रहेको बताए ।
उनले जनतामा देशप्रेम, राष्ट्रिय गौरव र नेपाली हुनुको आत्मसम्मान जगाउन अभियान सञ्चालन गरिएको उल्लेख गरे । राष्ट्रियता केवल राजनीतिक विषय नभई मुलुकको अस्तित्व र पहिचानसँग जोडिएको विषय भएको उनको भनाइ थियो ।
नेपालले विश्वका विभिन्न मुलुकमा वामपन्थी आन्दोलन पुनः सक्रिय हुँदै गएको उल्लेख गर्दै त्यसबाट नेपाली कम्युनिस्टहरूले प्रेरणा लिनुपर्ने बताए । उनले चुनौतीका बाबजुद कम्युनिस्ट आन्दोलनको रक्षा र विकास गर्दै जनताका समस्या समाधानमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
उनका अनुसार अभियानले पार्टीको संगठन सुदृढीकरणसँगै जनतामा राष्ट्रियता, देशभक्ति र स्वाभिमानको भावना बलियो बनाउने लक्ष्य राखेको छ ।








तपाईंको विचार लेख्नुहोस्