काठमाडौं ।
नेपाल र भारतका कृषि, स्वास्थ्य तथा संस्कृति मामलाका विज्ञहरुले दुई देशका जनताबीचको जीवनपद्धतिमा रहेको समानतालाई दृष्टिगत गरी नीतिहरु निर्माण गर्नुपर्ने बताउनुभयो ।
उहाँहरुले युवामा बढ्दो थालथलो छाड्ने प्रवृत्तिलाई रोक्न विश्वविद्यालयहरुको नीति तथा कार्यक्रममा परिवर्तन देखि रोजगारी सृजनाको विश्वास दिलाउने कार्यहरु अनिवार्य भएकोमा जोड दिनुभयो ।
काठमाडौंमा भइरहेको नेपाल–भारत नीति संवादको विमर्शमा शनिबार बोल्नुहुँदै मध्यप्रदेश खाद्य आयोगका प्रमुख प्राध्यापक वीरेन्द्रकुमार मलहोत्राले नेपाल र भारतबीच जनजनको सम्बन्ध जीवनयापनसँग पनि जोडिएको बताउनुभयो ।
उहाँले नेपालीहरुप्रति भारतका नागरिकको विश्वास रहेको उल्लेख गर्नुभयो । गोर्खा रेजिमेन्ट नेपालीहरुप्रतिको विश्वासको उदाहरण भएको उहाँको भनाई छ । भारतमा विदेशी विद्यार्थीमध्ये २४ प्रतिशत नेपाली रहेको तथ्यांक प्रस्तुत गर्दै नेपालसँगको सम्बन्धको घनिष्ठा यसले पनि बताउनुभयो ।
मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा. वैद्यनाथ महतोले नेपाल भारत मिलेर संयुक्त कृषि विकास रणनीति र कृषक केन्द्रित कार्यक्रम ल्याउनुपर्ने सुझाव दिनुभयो । भारतको बालीसम्बन्धी अध्ययन भारतका लागि पनि उपयोगी भएको बताउनुभयो । भूगोल जोडिएको मात्र मात्र नभई मिल्दोजुल्दो भएकाले उत्पादन वृद्धिमा मिलेर कार्य गर्न सकिने उहाँको भनाई थियो ।
नेपाल संस्कृत विश्वविद्यालयका रजिष्ट्रार डा.नवराज कट्टेलले नेपाल र भारत एउटै हिमालय शृंखलाको पानीबाट सिंचित हुने भन्दै सहभाव र सहचिन्तनबाट बढ्न सक्ने बताउनुभयो । वैदिक परम्पराले सबै संस्कृतिक समानता र सम्बन्ध गाँसिएको भन्दै नेपाल र भारतका विश्वविद्यालयहरुबीच निकट सम्बन्ध रहेको उल्लेख गर्नुभयो ।
त्रिभुवन विश्वविद्यालयकी उपप्राध्यापक डा. रमा पौडेलले भारतको स्वतन्त्रता आन्दोलनमा सहभागीले नेपालमा शिक्षाको विकास गरेको भन्दै दुई देशको सम्बन्धको गहिराईको व्याख्या गर्नुभयो । गाउँको विकासमा दुवै देशको विकास हुने प्रमाणित भइसकेको बताउनुहुँदै दुई देशबीच कृषि विकासमा साझेदारी र सहकार्यमा जोड दिनुभयो ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक बिजु थपलियाले सीमा रेखाले मात्र नभई सीमापार गरी दैनिक कार्य गर्न ओहोरदोहोरको मार्ग पनि भएको बताउनुभयो । सीमा दुई देशको सामाजिक जीवन र आर्थिक गतिविधिको रेखा पनि भएको उहाँको भनाई थियो ।
उहाँले नयाँ पुस्तामा आएको सोचको परिवर्तनलाई दृष्टिगत गरी युवालाई यहींकै विश्वविद्यालयहरुप्रति विश्वास जगाउने वातावरण मिलेर विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘नेपालका विश्वविद्यालयसँग कसिलो सम्बन्ध बनाउन भारतका विश्वविद्यालयलाई आग्रह छ ।’ मन र मुटु खुल्ला भएमा दुई देशको नीतिहरु बन्ने भन्दै त्यसतर्फ गम्भीर हुनुपर्ने बताउनुभयो ।
सेसनको सञ्चालन गर्नुभएका भारतको विकासशील देशहरुका लागि रिसर्च र इन्फरमेशन सिष्टमका निर्देशक प्राध्यापक सचिव कुमार शर्माले प्रस्तुतीहरुबारे समालोचना गर्दै दुवै देश मिलेर साझा चुनौतीको सामना गर्न मिलेर कार्य गर्नुपर्ने बताउनुभयो ।








तपाईंको विचार लेख्नुहोस्