कुमारी घरसँगै जीवित देवता गणेश–भैरवका लागि घर बन्दै

लामो पहलपछि परम्परागत नेवारी वास्तुकलामा साढे तीनतले भवन निर्माण सुरु


अनुमानित लागत ६ करोड ७ लाख ९५ हजार ५७ रुपैयाँ

इँटा, काठ, चुना र सुर्कीजस्ता परम्परागत निर्माण सामग्री प्रयोग गरिने

कलात्मक झिँगटीको छानो राखिने

काठमाडौँ

इन्द्रजात्राको रथयात्रासँग जोडिएका जीवित देवता गणेश र भैरवका लागि काठमाडौँमा छुट्टै परम्परागत निवासस्थान निर्माण सुरु भएको छ। काठमाडौँ महानगरपालिकाको लागत अनुमानअनुसार ६ करोड ७ लाख ९५ हजार ५७ रुपैयाँमा वसन्तपुरस्थित जीवित देवी कुमारीको घरसँगै बन्न लागेको उक्त भवनको शनिवार शिलान्यास गरिएको छ।

श्रीखण्ड तरुमूल महाविहारका कुलपुत्र राजगुरु मञ्जुश्री रत्न बज्राचार्यले परम्परागत वज्रयान विधिअनुसार उक्त भवनको जगपूजा गर्नुभएको थियो । सोही क्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले निर्माणस्थलको ब्रह्मस्थानमा जगपूजा तथा शिलान्यास गर्नुभएको थियो। त्यसैगरी निर्माणस्थलको ईशान (उत्तर–पूर्व) कोणमा वडा नं २४ का अध्यक्ष एवं हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम उपसमितिका संयोजक विनोदकुमार राजभण्डारी, आग्नेय (दक्षिण–पूर्व) कोणमा वडा नं. २३ का अध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जन, वायव्य (उत्तर–पश्चिम) कोणमा वडा नं. १९ का अध्यक्ष एवं पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठ र नैऋत्य (दक्षिण–पश्चिम) कोणमा वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धरले जगपूजासहित शिलान्यास गर्नुभएको थियो।

साढे तीनतलाको बन्ने भवन परम्परागत नेवारी वास्तुकलामा आधारित हुनेछ। इँटा, काठ, चुना र सुर्कीजस्ता परम्परागत निर्माण सामग्री प्रयोग गरिने भवनमा कलात्मक झिँगटीको छानो राखिने भएको छ। आर्किटेक्ट अमित बज्राचार्यका अनुसार भवनको प्रत्येक तलाको क्षेत्रफल १ हजार ३३८ दशमलव ७५ वर्गफिट र कुल क्षेत्रफल ४ हजार १६ दशमलव २५ वर्गफिट हुनेछ। भवनको भुइँतलामा सत्तल र भण्डार कक्ष, पहिलो तलामा जीवित देवताहरूको दर्शन तथा निवास कक्ष र दोस्रो तलामा भान्छा, शयन कक्षलगायतका संरचना रहनेछन्।

जीवित देवता गणेश र भैरवको निवासस्थान निर्माणको विषयमा स्थानीय एवं पूर्व अध्यक्षहरूका साथै श्रीखण्ड तरुमूल महाविहार संरक्षण तथा सञ्चालन समितिले लामो समयदेखि पहल गर्दै आएको थियो। समितिका अध्यक्ष ई. दिल्लीरत्न शाक्यले इन्द्रजात्राको परम्परासँग जोडिएका दुवै देवताको व्यवस्थित निवासस्थान नहुँदा धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालनमा कठिनाइ हुँदै आएकोमा अब निवासस्थान बनेपछि यस्ता धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालनमा सहज हुने भन्दै खुसी व्यक्त गर्नुभयो। इन्द्रजात्राका अवसरमा जीवित देवी कुमारीसँगसँगै जीवित देवता गणेश र भैरव र रथयात्रा हुने परम्परा रहेको जिकिर गर्दै अध्यक्ष ई. शाक्यले भन्नुभयो– ‘दुवै देवताको निवासस्थान कुमारी घरसँगै एउटै परिसरमा निर्माण हुन लागेकोले रथयात्रा सञ्चालनमा सहजता आउनुका साथै धार्मिक तथा सांस्कृतिक परम्पराको निरन्तरतामा समेत सहयोग पुग्नेछ।’ उहाँका अनुसार समितिले महानगरपालिकाको स्वामित्वमा रहेको नवआदर्श माध्यमिक विद्यालयको भवन भूकम्पबाट क्षतिग्रस्त भएपछि उक्त स्थानमा गणेश र भैरवको निवास निर्माणका लागि पहल अघि बढाएको थियो।

शिलान्यासपछि कार्यवाहक प्रमुख डंगोलले लामो प्रयास र मिहेनतपछि ऐतिहासिक कामको सुरुवात भएको भन्दै स्थानीय बासिन्दालाई यो भवनलाई आफ्नै घरसरह अपनत्व लिएर निर्माणको निगरानी गर्न आग्रह गर्नुभयो। कार्यक्रममा पूर्ववडाध्यक्ष पवित्र बज्राचार्य, पूर्वगणेश गणेश शाक्य तथा सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठले सम्पदा संरक्षण र सांस्कृतिक परम्पराको जीवन्तताका लागि महानगरपालिकाले थालेको कामको प्रशंसा गर्नुभएको थियो। नयाँ भवन निर्माणले जीवित देवताहरूको निवास व्यवस्थापनसँगै इन्द्रजात्रासँग जोडिएको धार्मिक तथा सांस्कृतिक गतिविधिलाई एउटै परिसरमा व्यवस्थित गर्ने अपेक्षा गरिएको छ। यसले काठमाडौँको ऐतिहासिक पहिचान बोकेको जात्रा परम्पराको निरन्तरतामा भौतिक पूर्वाधारको आधार तयार गर्नेछ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।