बाजुरा ।
बाजुरेली देउडामा प्रचलित ‘नानातिना कोइ नजाया, मलिका विकै छ’ भन्ने उखानले बडिमालिका क्षेत्रको धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र भौगोलिक विकटतालाई एकैसाथ चित्रण गर्छ । यसको आशय हो– सानोतिना वा सामान्यतया एक्लाएक्लै यात्राले मात्र बडिमालिकाको महिमा र कठिनाइलाई बुझ्न सकिँदैन । त्यहाँ पुग्न आस्था, साहस, धैर्य र कठिन परिस्थितिको सामना गर्ने क्षमता चाहिन्छ । तर यही उखानलाई प्रतिकूल मौसममा ज्यानकै बाजी लगाएर यात्रा गर्नुपर्ने अर्थमा बुझ्नु भने गम्भीर भूल हुनेछ । तर प्रकृतिको यही सुन्दरता कहिलेकाहीँ कठोर परीक्षामा बदलिन्छ । पछिल्लो हिमपातले बडिमालिका क्षेत्रको यात्रा कति जोखिमपूर्ण हुन सक्छ भन्ने तथ्यलाई पुनः उजागर गरेको छ ।
बडिमालिका केवल एउटा धार्मिक गन्तव्य होइन । यो सुदूरपश्चिमको सांस्कृतिक पहिचान, प्राकृतिक सम्पदा र धार्मिक पर्यटनको हत्त्वपूर्ण केन्द्र हो । समुद्री सतहबाट करिब ४ हजार २ सय मिटर उचाइमा रहेको बडिमालिका माताको मन्दिर र त्यस आसपासका विशाल पाटन, हिमालका मनोरम दृश्य तथा त्रिवेणी धामले हजारौँ श्रद्धालु र पर्यटकलाई आकर्षित गर्दै आएका छन् । सामान्यतया बडिमालिका क्षेत्रका वैशाखदेखि जनैपूर्णिमासम्म यात्रा गर्न सजिलो हुन्छ । किनकि त्यो समयमा ठाउँठाउँमा भैँसी खर्क, भेडी ठोटा र घोडी बथान हुन्छन् । यत्रतत्र गाई गोठाला हुन्छन् । यसले बाह्य तथा आन्तरिक पर्यटकलाई आवास तथा आवागमनमा सहज बनाउँछ ।
यस सन्दर्भमा एक आलो र दुःखद खबर यहाँ उल्लेख गर्न चाहन्छु । बाजुरास्थित धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकामा सम्पर्कविहीन भएका कञ्चनपुरको वेदकोट नगरपालिका, दैजी घर भएका २० वर्षीय मनिष बोहरा मृत अवस्थामा फेला परेका छन् । भारी हिमपातपछि शुक्रबारदेखि सम्पर्कविहीन भएका बोहराको खोजीका लागि आइतबार बिहान सदरमुकाम मार्तडीबाट हेलिकप्टरमार्फत सुरक्षाकर्मीको टोली परिचालन गरिएको थियो । खोजीका क्रममा उनी बडिमालिकास्थित त्रिवेणी पाटननजिकै मृत अवस्थामा फेला परेको प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए ।
मृतक युवकको शव र खोजी कार्यमा खटिएका सुरक्षाकर्मीलाई हेलिकप्टरमार्फत ल्याउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । यसअघि हिमपातका कारण त्रिवेणी पाटनमा अलपत्र परेका कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का २१ वर्षीय सागर कार्कीको शनिबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । बडिमालिका माताको दर्शन गरेर फर्कने क्रममा हिमपात भएपछि उनी शुक्रबारदेखि त्रिवेणी पाटनस्थित धर्मशालामा बसेका थिए ।
एउटै हिमपातले एक युवालाई मृत्युवरण गर्न बाध्य बनायो भने अर्का युवाको उद्धार गर्नुप¥यो । आस्थासँग जोडिएको यस घटनाले बडिमालिका यात्राको जोखिमलाई सामान्य रूपमा लिन नहुने सन्देश दिएको छ ।
एउटै हिमपातले एक युवालाई मृत्युवरण गर्न बाध्य बनायो भने अर्का युवाको उद्धार गर्नुप¥यो । आस्थासँग जोडिएको यस घटनाले बडिमालिका यात्राको जोखिमलाई सामान्य रूपमा लिन नहुने सन्देश दिएको छ ।
बडिमालिका क्षेत्रको यात्रा सामान्य पदयात्राभन्दा फरक छ । यहाँको भूगोल, उचाइ, चिसो हावा र मौसमको अनिश्चितताले यात्रुलाई निरन्तर चुनौती दिइरहन्छ । करिब १४ हजार फिटको उचाइमा पुग्दा अक्सिजनको मात्रा कम हुँदै जान्छ । शरीरले चिसो सहन नसक्ने अवस्था आउन सक्छ । हिमपातले बाटो छोपेपछि परिचित भूगोलसमेत अपरिचित बन्न सक्छ । हिउँले बाटो, खोल्सा र भीरको वास्तविक अवस्था छुट्याउन कठिन बनाउँछ ।
यस्तो अवस्थामा यात्रुका लागि सबैभन्दा ठूलो चुनौती गन्तव्यसम्म पुग्नु मात्र होइन, सुरक्षित रूपमा फर्कनु पनि हो । बडिमालिका दर्शनका लागि निस्किएका युवाहरू प्रतिकूल मौसमका कारण त्रिवेणी पाटनमा अलपत्र पर्नु र उद्धारका लागि हेलिकप्टर परिचालन गर्नुपर्ने अवस्थाले पूर्वतयारीको महत्त्वलाई झन् स्पष्ट बनाएको छ । धार्मिक आस्था र साहस यात्राका प्रेरणा हुन् । तर मौसमको चेतावनीलाई बेवास्ता गरेर अघि बढ्नु साहस होइन, जोखिमलाई निम्त्याउनु हो ।
सरकारको चेतावनी र यात्रुको निर्णय
सरकारले कार्तिक ११ देखि १५ गतेसम्म टाढाका गन्तव्यमा यात्रा नगर्न सार्वजनिक सूचना जारी गरेको थियो । प्रतिकूल मौसमको पूर्वानुमान र सम्भावित जोखिमलाई ध्यानमा राखेर जारी गरिएको यस्तो चेतावनी यात्रुको सुरक्षाका लागि महत्त्वपूर्ण हुन्छ । तर बडिमालिका क्षेत्रमा करिब १४ हजार फिटको उचाइसम्म पुग्ने यात्राको निर्णय गरिएको थियो । त्यसपछि आएको हिमपातले यात्रुहरूलाई कठिन परिस्थितिमा पु¥यायो ।
यहाँ प्रश्न उठ्छ– प्रतिकूल मौसमको पूर्वसूचना हुँदाहुँदै धार्मिक तथा पर्यटकीय यात्रालाई किन रोक्न सकिएन ? यात्रुहरूलाई जोखिमबारे पर्याप्त जानकारी थियो कि थिएन ? स्थानीय तह, पर्यटन व्यवसायी, सुरक्षाकर्मी र यात्रुबीच समन्वय कस्तो थियो ? यी प्रश्नको उत्तर खोज्नु आवश्यक छ । किनकि एउटा दुःखद घटनाबाट पाठ सिकिएन भने यस्ता दुर्घटना फेरि दोहोरिन सक्छन् ।
बडिमालिका दर्शन गर्न नहुने भन्ने होइन । बरु यसको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्त्वलाई सुरक्षित रूपमा प्रवद्र्धन गर्नुपर्छ । अनुकूल मौसममा, पर्याप्त तयारीसहित र अनुभवी मार्गदर्शकको साथमा बडिमालिका यात्रा गर्न सकिन्छ । तर भारी हिमपात, वर्षा, तीव्र हावा, बाक्लो कुहिरो र मौसमको प्रतिकूल पूर्वानुमान भएको अवस्थामा यात्रा स्थगित गर्नु नै बुद्धिमानी हुन्छ ।
विशेष गरी उच्च हिमाली क्षेत्रमा मौसम केही घण्टामै परिवर्तन हुन सक्छ । बिहान खुलेको आकाश दिउँसो बाक्लो बादल र हिमपातमा बदलिन सक्छ । त्यसैले यात्राको योजना बनाउँदा केवल गन्तव्य र धार्मिक तिथिलाई मात्र होइन, मौसमको अवस्था र सुरक्षित फर्कने सम्भावनालाई पनि प्राथमिकता दिनुपर्छ । बडिमालिका यात्रामा निस्कनुअघि मौसमको आधिकारिक सूचना बुझ्ने, पर्याप्त न्यानो कपडा र खाद्यान्न लैजाने, सञ्चारका साधन तयार राख्ने, स्थानीय मार्गदर्शकको सहयोग लिने र आवश्यकताअनुसार यात्रा रोक्ने निर्णय गर्न सक्ने क्षमता महत्त्वपूर्ण हुन्छ ।
पर्यटन प्रवद्र्धनसँगै सुरक्षा जिम्मेवारी
बडिमालिका क्षेत्र बाजुराको आर्थिक समृद्धि र पर्यटन विकासको ठूलो सम्भावना बोकेको क्षेत्र हो । धार्मिक पर्यटनले स्थानीय होटल व्यवसाय, यातायात, खाद्यान्न, हस्तकला तथा स्थानीय उत्पादनको बजार विस्तार गर्न सक्छ । तर पर्यटनको विकास यात्रुहरूको सुरक्षालाई बेवास्ता गरेर सम्भव हुँदैन ।
बडिमालिका यात्रालाई व्यवस्थित बनाउन स्थानीय तह, जिल्ला प्रशासन, पर्यटनसम्बद्ध निकाय र स्थानीय समुदायबीच प्रभावकारी समन्वय आवश्यक छ । जोखिमयुक्त मौसममा यात्रा रोक्ने व्यवस्था, पदमार्गमा सूचना बोर्ड, सुरक्षित आश्रयस्थल, सञ्चार सुविधा, उद्धार टोलीको तयारी र मौसमसम्बन्धी नियमित जानकारीलाई प्राथमिकता दिनुपर्छ ।
त्रिवेणी पाटनजस्ता उच्च जोखिमयुक्त क्षेत्रमा यात्रुहरूको आवागमन अभिलेख राख्ने र मौसम बिग्रिएपछि तत्काल सूचना प्रवाह गर्ने प्रणाली विकास गर्न सकिएमा सम्भावित दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्न सक्छ ।
आस्था अमूल्य, जीवन अझ अमूल्य
बाजुरेली देउडा उखान ‘नानातिना कोइ नजाया, मलिका विकै छ’ ले बडिमालिकाको कठिन यात्रा र धार्मिक महिमालाई स्मरण गराउँछ । तर यसको वास्तविक मर्म कठिनाइलाई बुझ्नु र त्यसअनुसार तयारी गर्नु पनि हो । बडिमालिका माताको दर्शन गर्ने चाहना श्रद्धालुका लागि पवित्र भावना हो । तर देवीको दर्शनका लागि निस्किएको यात्रु सुरक्षित रूपमा घर फर्कनु पनि उत्तिकै महत्त्वपूर्ण छ ।
एक युवकको मृत्यु र अर्का युवकको उद्धारले हामीलाई यही पाठ सिकाएको छ– प्रकृतिसँग प्रतिस्पर्धा गरेर होइन, प्रकृतिको अवस्था बुझेर यात्रा गर्नुपर्छ । बडिमालिका विकट छ तर विकटतालाई जित्ने नाममा जीवन गुमाउनुहुँदैन । आस्था जोगाऔँ, प्रकृतिको सम्मान गरौँ र सुरक्षित पर्यटनको संस्कार विकास गरौँ । किनकि बडिमालिका दर्शनको साँचो सफलता माताको दर्शन गरेर सकुशल घर फर्कनुमा छ ।











प्रतिक्रिया