सिभिल अस्पतालमा पहिलोपटक ईक्मो सेवा, गम्भीर बिरामीको सफल उपचार


काठमाडौं ।

मिनभवनस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा पहिलोपटक अत्याधुनिक जीवनरक्षक प्रविधि एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिजेनेसन (ईक्मो) सेवा सफलतापूर्वक सञ्चालन गरिएको छ।

इन्फ्लुएन्जा भाइरसको संक्रमणका कारण गम्भीर एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम (एआरडीएस) बाट पीडित ४३ वर्षीय पुरुष बिरामीको ईक्मोसहित उपचार गरी स्वास्थ्यलाभ भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ।

अस्पतालका सघन उपचार सेवा विभाग प्रमुख डा. प्रदीप तिवारीका अनुसार ईक्मो मुटु र फोक्सोले काम गर्न नसक्ने अवस्थामा ती अंगको काम अस्थायी रूपमा गर्ने जीवनरक्षक प्रणाली हो। यस प्रविधिमा शरीरबाट बाहिर निकालिएको रगतमा अक्सिजन थप्नुका साथै कार्बन डाइअक्साइड हटाएर पुनः शरीरमा पठाइन्छ।

‘भाइरल संक्रमणपछि बिरामीको फोक्सोमा गम्भीर समस्या देखिएकाले फोक्सोलाई आराम दिन विशेष प्रकारको ईक्मो मेसिनको सहयोग लिनुपरेको थियो,’ डा. तिवारीले भन्नुभयो, ‘ईक्मोमा जोडेपछि मेसिनले फोक्सोको काममा सहयोग गरेको थियो।’

बिरामीलाई ११ दिनसम्म ईक्मो र १४ दिनसम्म भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो। उपचारपछि असोज १७ गते सघन उपचार कक्ष (आईसीयू) बाट डिस्चार्ज गरी घर पठाइएको अस्पतालले जनाएको छ।

उपचारमा संलग्न क्रिटिकल केयर विशेषज्ञ डा. आनन्द ठाकुरका अनुसार एआरडीएस, पल्मोनरी इम्बोलिजम, गम्भीर हृदयाघात तथा मुटु र फोक्सो प्रत्यारोपणका क्रममा ईक्मो प्रविधि प्रयोग गरिन्छ।

बिरामीको उपचारमा डा. तिवारी, डा. आनन्द ठाकुर, डा. सन्तोष आचार्य, डा. वीरेन्द्र राउत, कार्डियोथोरासिक तथा भास्कुलर सर्जन डा. सम्पूर्ण तुलाधर, पर्फ्युजनिस्ट इशान जोशी र एनेस्थेसियोलोजिस्ट डा. दीपक भण्डारीसहित चिकित्सक तथा नर्सिङ टोली संलग्न थियो।

यस सेवाको सुरुवातसँगै सिभिल अस्पतालमा जटिल अवस्थाका मुटु तथा फोक्सोका बिरामीको उपचारका लागि थप अत्याधुनिक सुविधा उपलब्ध भएको छ।